नयाँ स्टक कम्पनीको लाइसेन्स रोक्ने म होइन्, प्रधानमन्त्री दाहाल हुनः महत

Advertisement

काठमाडौं । निवर्तमान अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नयाँ स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्स रोक्ने आफू नभई प्रधानमन्त्री पुष्पकमल दाहाल भएको खुलासा गरेका छन् । 

मंगलबार आफ्नो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले नयाँ स्टकको लाइसेन्स प्रक्रिया प्रधानमन्त्री दाहालले रोकेको बताए । यसअघि अर्थमन्त्री महतसँग कुरा नमिल्दा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रियामा अवरोध सिर्जना भएका समाचार आएका थिए ।  

Advertisement

तर नेता महतले भने सो कुरामा सत्यता नरहेको बताए । महतले तत्कालीन समयमा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स रोक्न आफ्नो कुनै भूमिका नरहेको बताउँदै सबै काम प्रधानमन्त्री पुष्पकमल दाहालले भनेअनुसार नै भएको बताए ।

महतले भने, ‘प्रधानमन्त्रीले रोक्न भनेपछि प्रक्रिया रोकियो । त्यसपछि सर्वोच्च अदालतले निकास दियो । पछि संसदको अर्थ समितिले पनि प्रक्रिया अघि बढाउनु भन्यो । त्यसपछि सेबोनले हामीलाई के गर्ने ? भनेर पत्र लेख्यो । त्यो अर्थ मन्त्रालयले रोकेकै थिएन । त्यसले गर्दा हामीले सो पत्र मन्त्रिपरिषद्मा पठाएका हौं ।’

उनले थपे, ‘सेबोनबाट आएको चिठीसँगै हामीले अध्ययन गरिसकेका थियौं । खोल्ने वा नखोल्ने के हो ? सरकारले नै गरोस् भनेको हो । त्यसपछि अर्थलाई नै अध्ययन समिति बनाउनु भनेर अर्थबाट प्रस्ताव ल्याउनुपर्यो भनेर पत्र आयो । हामीले त्यही खालको कमिटी बनायौं । त्यसले अध्ययन गरिरहेको होला ।’

Advertisement