पोखरामा जब प्रधानमन्त्री दाहाल छमछमी नाचे...!

Advertisement

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो । मध्यान्हपख घोषणा समारोह सुरु भयो । 

समारोहको बीचबीचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति दिइरहेका थिए । ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा...’ का गायक प्रमोद खरेलदेखि प्रकाश सपुतसम्मले पोखरेलीलाई गीत सर्मपण गरे । 

Advertisement

धर्मेन्द्र सेवानले आफ्ना दिवङ्गत बुबा बुद्धि परियारले गाएको ‘रेशम फिरिरि...’ सुनाउनुभयो । गायक विवेक श्रेष्ठले ‘हङकङ पोखरा...’ गाएर दर्शकलाई मन्त्रमुग्ध पारे । औपचारिक समारोह सकिनुपूर्व अन्तिम प्रस्तुतिका लागि गायक प्रकाश सपुत मञ्चमा उक्लिए । समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मञ्चस्थ विशिष्ट पाहुनाप्रति श्रद्धापूर्वक शिर निहुराए र आफ्नो प्रस्तुति दिन सुरु गरे । अरुलाई एकवटा मात्र गीत गाउन दिइए पनि सपुतले दुई गीत सुनाए ।  

पहिलो पञ्चेबाजामा ‘माकुरमाकुर घुर...’ र दोस्रो ‘बोलामाया...’ । देशविदेशका साङ्गीतिक प्रस्तुतिमा भ्याइनभ्याइ उहाँ प्रधानमन्त्री प्रचण्डसामु भने पहिलोपटक गीत गाउँदै हुनुहुन्थ्यो । सपुतले क्रान्तिको पृष्ठभूमिबाट आउनुभएका प्रधानमन्त्रीबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताए । उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे ।  

“प्रधानमन्त्रीज्यूसँग अहिलेसम्म मेरो एउटा तस्बिर पनि छैन, प्रोटोकलले दिन्छ भने उहाँलाई म नाच्नका लागि आग्रह गर्दछु”, सपुतले भनेका थिए । उनको अनुरोधलाई सहज रुपमा स्वीकार गर्दै प्रधानमन्त्रीसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मञ्चको अग्रभागमा आएर नाचे ।  

undefined

गायक सपुतको ‘बोलमाया...’ गीतमा प्रधानमन्त्रीलगायत विशिष्ट ओहोदाका व्यक्तित्वहरुको नाचले उक्त समारोहमा बेग्लै रौनकता ल्याएको थियो । प्रधानमन्त्री नाच्दा दर्शकले तालीले साथ दिएका थिए । सो दृश्यलाई धेरैले क्यामरा र मोबाइलमा कैद गरे । 

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखराको विकासका लागि सङ्घ सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए । उनले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए ।  

“पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि यथोचित पहल तथा समन्वय गरिनेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।” उनले आगामी वैशाखमा आयोजना गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।  

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेलीको वर्षौँ पुरानो सपना पूरा भएको बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न गरिएको पटक–पटक पहलले सार्थकता पाएको उनको भनाइ छ । प्रमुख आचार्यले राजधानी घोषणाले विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुने बताए । प्रमुख आचार्यले पर्यटन राजधानी घोषणाले यस क्षेत्रका नागरिकको जीवनस्तर सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

आचार्यले तीन तहका सरकार मिलेर पोखरामा पर्यटनका थप पूर्वाधार निर्माण गरिने बताए । प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी घोषणासँगै पर्यटकीय राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भको अनावरण गरेका थिए ।   

सो अवसरमा कास्कीको हेम्जामा जन्मिएका साहित्यकार मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको थियो । यस्तै दिवङ्गत भूगोलविद् हर्क गुरुङ र गायक तथा सर्जक प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिएको थियो । मल्लले ‘पोखरा त साँच्चिकैको पोखरा पो रै’छ...’ गीत गाएका थिए । 

Advertisement

Advertisement