नुवाकोट-काठमाडौँ पत्रकार समाजको पहलमा माइली राईलाई तीन लाख आर्थिक सहयोग

Advertisement

काठमाडौँ । नुवाकोट–काठमाडौँ पत्रकार समाजको पहलमा नुवाकोटकी माइली राईलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

माइलीका श्रीमान् पाण्डवको मृत्युपछि आर्थिक अभावमा आर्यघाटसम्म रिक्सामा शव लगिएको हृदयविदारक घटना सार्वजनिक भएसँगै समाजको सक्रियतामा सङ्कलित ३ लाख १०५ रुपियाँ आइतबार उपलब्ध गराइएको हो ।

Advertisement

राईको पीडामा साथ दिँदै समाजको पहलमा नेपाल र टेक्सासलगायत अमेरिकाको विभिन्न राज्यमा बस्दै आएका नेपालीहरूबाट सो सहयोग जुटेको थियो ।

जुन रकम आइतबार पशुपतिको क्रियापुत्री भवनको १०७ नम्बर कोठामा पुगेर नुवाकोट–काठमाडौँ पत्रकार समाजका संयोजक रमेश जमकट्टेल र अमेरिका निवासी नुवाकोटका देवेन्द्र गजुरेलले माइलीलाई संयुक्त रूपमा हस्तान्तरण गरे ।

रकम हस्तान्तरण गर्दै संयोजक जमकट्टेलले दुःखद घडीमा पत्रकारको समूह र प्रवासमा रहेका नेपालीले उपलब्ध गराएको सानो सहयोगले शोकमा रहेका परिवारलाई केही राहत मिल्ने विश्वास व्यक्त गरे ।

त्यस्तै गजुरेलले जन्मभूमिमा परेको आपत् विपदमा प्रवासमा रहेका नेपालीहरूले निरन्तर सहयोग गर्दै आइरहेको र भोलिका दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सहयोग रकम ग्रहण गर्दै माइली राईले आपत् परेका बेला सबै नेपालीहरू एकजुट भएको र प्राप्त सहयोगले आफूलाई परिवार चलाउन राहत मिल्ने बताइन् ।

यसैबीच हालसम्म माइलीको परिवारलाई विभिन्न व्यक्तित्वबाट करिब १८ लाखहाराहारीमा आर्थिक सहयोगसहित खाद्यान्न र अन्य सामग्रीसमेत जुटेको बताइएको छ ।
 

Advertisement

Advertisement