फिफा विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपाल बहराइनसँग पराजित

Advertisement

काठमाडौं । बहराइनमा भएको फिफा विश्वकप छनोटअन्तर्गतको खेलमा नेपाल घरेलु टोलीविरुद्धको दोस्रो खेलमा ३–० ले पराजित भएको छ । 

पहिलो खेलमा ५–० को हार बेहोरेको नेपालले टोलीमा परिवर्तन गर्दै केही आक्रामक टोली उतार्ने संकेत गरे पनि नेपालमाथि घरेलु टोली नै हाबी भएको थियो । बहराइनले खेलमा सबै गोल पहिलो हाफमा गर्यो ।

Advertisement

सातौं मिनेटमा बहराइनले खेलमा सुरुवाती गोल गर्न सफल भयो । नेपालले कर्नर किक क्लियर गर्न नसकेपछि डिफेन्डर सायद बाकेरको प्रहार डिफ्लेक्ट भएर पोस्टतर्फ गएको थियो ।

१७औं मिनेटमा बहराइनले पेनाल्टीमा अग्रता दोब्बर बनाउने अवसर पायो । काउन्टर अट्याकमा गोलकिपर किरण चेम्जोङले मोहम्मद मरहुनमाथि फाउल गरेपछि बहराइनले पेनाल्टी पाएको थियो । पेनाल्टीमा अब्दुल्लाह युसुफले गोल गर्दै स्कोरलाइन २–० सम्म पुर्याए ।

३६औं मिनेटमा बहराइनले तेस्रो गोल गर्यो । कोमाइल इलसवादले गोल गर्दै अग्रता तीन गोलको बनाएका हुन् ।

नेपाल ४ खेलमा अंकविहीन रहँदै तालिकाको पुछारमा छ । नेपालले युएईविरुद्ध ४–०, यमन विरुद्ध २–० र बहराइन विरुद्ध ५–० को हार बेहोरेको थियो । युएई १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । यस्तै ९ अंकसहित बहराइन दोस्रो र यमन ३ अंक सहित तेस्रो छन् ।

नेपालले दोस्रो चरणमा बाँकी रहेका दुई खेल जुनमा खेल्नेछ ।

Advertisement