नयाँ जीवन बीमा व्यवसाय फागुनमा सामान्य वृद्धि, कुन महिनामा कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) मा ६ महिनापछि सामान्य वृद्धि देखिएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०८०/८१ को फागुन महिनासम्ममा प्रथम बीमाशुल्क संकलन १.०८ प्रतिशतले बढेको हो ।  

फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १८ अर्ब ७२ करोड ५१ लाख रुपियाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधीको तुलनामा २० करोड ६ लाख रुपियाँ बढी हो । तथ्यांकअनुसार गत आवको फागुन महिनासम्म १८ अर्ब ५२ करोड ४४ लाख रुपियाँ प्रथम बीमाशुल्क संकलन भएको थियो । 

Advertisement

गत आव २०७९/८० मा भने ३१ अर्ब २३ करोड ८६ लाख रुपियाँ प्रथम बीमाशुल्क संकलन भएको थियो । त्यसअघि आव २०७८/७९ मा ४१ अर्ब ४४ करोड ७० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको थियो । 

पछिल्लो समय आर्थिक शिथिलताका कारण आममानिसको खर्च गर्ने क्षमता कमजोर हुँदा बीमा व्यवसाय गत आवदेखि नै प्रभावित थियो । त्यसमा पनि नयाँ जीवन बीमा व्यवसाय उच्च दरमा घटेको थियो । बिशेषगरी आम्दानीमा आएको गिरावट, उच्च महंगी लगायतका कारण आम मानिसको बीमा गर्ने क्षमता घटेको थियो । फलस्वरुप नयाँ जीवन बीमा व्यवसायमा ह्रास अर्थात् प्रथम बीमाशुल्क संकलन घटेको थियो । 

यद्यपि, गत साउनमा भने प्रथम बीमाशुल्क संकलन ४.१७ प्रतिशतले बढेको थियो । तर, पुनः भदौंमा ९.९५ प्रतिशत, असोजमा ५.२५ प्रतिशत, कात्तिकमा ५.३६ प्रतिशत, मंसिरमा २.५४ प्रतिशत, पुसमा २.५५ प्रतिशत र माघमा १.८५ प्रतिशतले प्रथम बीमाशुल्क संकलन घट्यो ।

फागुनसम्म आउँदा भने त्यो १.०८ प्रतिशतले बढेको प्राधिकरणको तथ्यांकले पुष्टी गरेको छ । मुद्रास्फीतीमा आएको कमी, रेमिट्यान्स आप्रवाह लगातका कारण आम मानिसको बीमा गर्ने क्षमता बढेको छ, त्यसको सकरात्मक प्रभाव बीमा व्यवसायमा देखिएको हो ।

undefined

नयाँ जीवन बीमा व्यवसाय सामान्य अवस्थामै भने नआएको बीमा कम्पनीहरु बताउँछन् । आव २०७८/७९ सम्ममा नयाँ जीवन बीमा व्यवसायको उच्च दरमा बढ्ने गरेको थियो । तर, गत आवमा नयाँ जीवन बीमा व्यवसाय उच्च दरमा घट्यो । अहिले भने सामान्य दरमा मात्रै यसको व्यवसाय बढेको छ । नयाँ जीवन बीमा व्यवसाय पहिलाकै लयमा आउन अझै केही समय लाग्ने कम्पनीहरु बताउँछन् । अर्थतन्त्र चलायमान नभइसकेकाले तत्काल ढुक्क हुने ठाउँ नरहेको उनीहरु बताउँछन् ।

फागुनसम्म आउँदा कूल बीमा व्यवसाय भने ५.१९ प्रतिशतले बढेको छ । गत आवको फागुन महिनासम्म ९३ अर्ब ७२ करोड ५२ लाख रुपियाँ कूल बीमाशुल्क संकलन भएको थियो, चालु आवको फागुन मसान्तसम्ममा भने ९८ अर्ब ५९ करोड ६ लाख रुपियाँ कूल जीवन बीमाशुल्क संकलन भएको छ । 

undefined

हाल नेपालमा १४ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । बीमितले निश्चित बर्षको अवधी राखेर जीवन बीमा गरेका हुन्छन्, त्यसबापत हरेक बर्ष शुल्क तिर्नपर्ने हुन्छ । त्यसमा पहिलो बर्ष भुक्तानी गरिने शुल्क नै ‘प्रथम बीमाशुल्क’ अर्थात् नयाँ जीवन बीमा व्यवसाय हो । बीमितले दोस्रो बर्षबाट तिर्ने शुल्कलाई भने कम्पनीहरुले नविकरण बीमाशुल्कमा गणना गर्छन्, फागुन महिनासम्म ७९ अर्ब ८६ करोड ५५ लाख रुपियाँ नविकरण बीमाशुल्क संकलन भएको छ । 

Advertisement