नेपालमा चाँडोभन्दा चाँडो आईटी हबको विकास गर्नुपर्छः मन्त्री रेखा शर्मा

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा चाँडोभन्दा चाँडो आईटी (सुचना प्रविधि) हबको विकास गर्न जरुरी रहेको बताएकी छन् । 

सोमवार लगानी सम्मेलनमा उनले नेपालमा बढ्दै गइरहेको सूचना प्रविधिसम्बन्धी सेवा निर्यातलाई प्रवद्र्धन गर्न सूचना प्रविधि उद्योग र स्टार्टअपहरुलाई एकै थलोबाट सञ्चालन गर्न आवश्यक पूर्वाधारको अभाव रहेको बताइन् । 

Advertisement

शर्माले सो अभावलाई परिपूर्ति गर्नका लागि चाँडो भन्दा चाँडो आईटी हबको विकास गर्न जरुरी रहेको बताइन् । उनले आईटी हबको विकास गर्नाले देशभित्र र बाहिरका लगानीकर्ताको पुँजी तथा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिको ज्ञान, सीप र श्रमको एकीकृत परिचालन गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरिन् । 

सूचना प्रविधि उद्योगको प्रवद्र्धनका लागि देशभित्र र बाहिरका साना तथा ठूला सबै लगानीकर्तासँग सहकार्य गर्न सरकार तयार रहेको शर्माको भनाई छ । उनले विश्वस्तरमा भएका एआई, क्लाउड कम्प्युटिङ, आईओटी, ब्लकचेनजस्ता नयाँ प्रविधिहरुको विकास र विस्तारबाट नेपालले कसरी लाभ लिने भनेर तयारी पनि गरिरहेको बताइन् । 

सूचना प्रविधि उद्योगका लागि नेपाल नेपाली लगानीकर्ताको मात्रै नभई विदेशी लगानीकर्ताहरुको समेत उपयुक्त स्थल भएको शर्माको भनाई छ । उनले सूचना प्रविधिको क्षेत्रमा नेपालमा दक्ष जनशक्ति पनि भएकोले कम लागतमा आईटी उद्योगहरु सञ्चालन गर्न सकिने बताइन् । 

Advertisement

Advertisement