बंगलादेशमा पनि लगानी सम्मेलनको प्रि–इभेन्ट: लगानी गर्न प्रधानमन्त्री र अर्थमन्त्रीको आह्वान

Advertisement

काठमाडौँ । लगानी बोर्डको कार्यालयले बंगलादेशको ढाकास्थित नेपाली दूतावाससँगको सहकार्यमा आगामी लगानी सम्मेलनलाई लक्षित गर्दै शनिबार प्रि-इभेन्ट इन्भेष्टमेन्ट सेमिनार आयोजना गरेको छ । 

उक्त सेमिनारमा आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनको विषयवस्तु तथा अपेक्षाका सम्बन्धमा सम्भावित लगानीकर्ताहरूलाई जानकारी गराइएको थियो ।

Advertisement

कार्यक्रममा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपालमा लगानी गर्दाका रणनीतिक लाभहरूबारे चर्चा गरेका थिए । साथै, बंगलादेशी लगानीकर्तालाई नेपालमा जलविद्युत, पूर्वाधार, होटल तथा हस्पिट्यालिटी, फर्मास्युटिकल्स, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीको अवसर पहिल्याउन आग्रह गरे । 

सेमिनारका प्रमुख अतिथि बंगलादेशका ऊर्जा मन्त्री नसरुल हमिदले नेपालका उल्लेख्य लगानीको सम्भावनाबारे उल्लेख गर्दै नेपालसँग द्विपक्षीय लगानी सम्बन्धलाई मजबुत गर्ने चाहाना भएको बताए । नेपाल र बंगलादेशबीचको ऊर्जा सहकार्यलाई विशेष महत्व दिदैं बंगलादेशको उच्च माग र नेपालको उत्पादन क्षमताबीच तादम्यता मिलाउँदै प्रगाढ सहकार्यमा जोड दिए । 

यस्तै, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्मेलनको तयारीका सम्बन्धमा जानकारी गराउनुहुँदै लगानी सम्मेलनले  सम्भावित लगानीकर्ता, नीतिनिर्माता, निजी क्षेत्र, विज्ञ, विकास साझेदार, डेभलपमेन्ट फाइनान्स इन्स्टिच्यूसनहरू र बैंक तथा वित्तीय संस्थालाई एक ठाउँमा ल्याउने र विदेशी लगानीकर्ताहरूले स्थानीय व्यवसायीहरूसँग साझेदारी गर्न सक्ने बताए । उनले सहभागी लगानीकर्तालाई सम्मेलनमा सहभागी हुन आह्वान समेत गरेका थिए । 

लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले लगानी सम्मेलनको सम्बन्धमा विस्तृत जानकारी प्रदान गर्ने प्रस्तुतीकरण गरेका थिए । सेमिनारमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आह्वान गरेको भिडियो सन्देश प्रसारण गरिएको थियो । 

सेमिनारमा बंगलादेशको संसदका सदस्यहरू, उच्चपदस्थ सरकारी अधिकारीहरू, थिंक ट्यांक, प्रतिष्ठीत व्यावसायिक प्रतिष्ठानमा प्रतिनिधिहरू, नेपाली दूतावासका अधिकारीहरू लगायत ८० भन्दा धेरैको सहभागिता रहेको थियो ।
 

Advertisement