‘चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजनालाई अन्तिम रुप दिने बारेमा छलफल’

Advertisement

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसियटको कार्यान्वयन योजनालाई अन्तिम रुप दिने बारेमा छलफल भएको बताएका छन् । 

परराष्ट्रमन्त्री श्रेष्ठले बुधवार समसामयिक विषयमा प्रतिनिधि सभा बैठकमा बोल्दै आफ्नो चीन भ्रमणका क्रममा बिआरआई कार्यान्वयनको योजनालाई अन्तिम रुप दिने सम्बन्धमा छलफल भएको बताएका हुन् । उनले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीन बीचका १४ वटा परम्परागत व्यापार सिमा नाकाहरु यथाशिघ्र खोल्ने सहमती भएको पनि बताए । 

Advertisement

त्यस्तै नेपाल चीनबिच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरुमा नियमित रुपमा उच्च स्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सहमत भएको जानकारी पनि उनले दिए । चीन भ्रमण गर्न चाहाने नेपालीहरुलाई चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन अनुरोध गरेको बताए । 

परराष्ट्रमन्त्री श्रेष्ठले चीनले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको बताए । उनले नेपाल–चीनबीच भएको सहमतीहरुको प्रभावकारी कार्यान्वयन गरी तथा विद्यमान संयन्त्रको नियमित बैठक बसी र आवश्यकताअनुसार सम्बन्धित विषयमा कार्यसमूह (वर्किङ ग्रुप) गठन गरी आपसी सहयोगलाई थप गतिशिल बनाउन दुवै पक्ष सहमत भएको पनि उल्लेख गरे । 

त्यसैगरी सीमा क्षेत्रमा बसोवास गर्ने नेपालीहरुलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमी प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँहरुमा विद्युतिकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको उनको भनाई छ । उहाँले नेपालको काठमाडौँ र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबीच सिधा बस सेवा पुनः सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भएको पनि जानकारी दिए । 

परराष्ट्र मन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणले नेपाल र चीन बीचको आपसी समझदारी थप गहिरो भएको र नेपाल र चीन बिचको सद्भावले थप उचाई प्राप्त गरेको बताए । उनले आपसी सहयोग र सहकार्यका क्षेत्रहरुमा विस्तृत र स्पष्ट छलफल भएको भन्दै यसले नेपाल र चीनबिचको मित्रवत सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउन मद्दत गरेको बताए । 

Advertisement