दिल्लीमा नेपालको ‘पावर समिट’, नेपालको ऊर्जामा लगानी गर्न आह्वान

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न भारतीय अर्बपति अडानी इच्छुक

Advertisement

काठमाडौं ।  भारतीय अर्बपति (धनाढ्य) गौतम अडानी नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक देखिएका छन् । भारतका लागि नेपाली दूतावासले बुधबार नयाँ दिल्लीमा आयोजना गरेको ‘दि पावर समिट २०२४’ मा उनको व्यवसायीक घरानाले यस्तो इच्छा व्यक्त गरेको हो । 

अडानीले नेपालको ऊर्जा, एयरपोर्ट लगायतका पुर्वाधारमा लगानी गर्ने चाहाना पहिलेदेखि नै देखाउँदै आएका थिए । सोही क्रममा बुधबार नेपाली दुतावासले गरेको कार्यक्रममा अडानी ग्रुपका उपाध्यक्ष जयरामन पुनीधानले पनि नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न सक्ने बताए । 

Advertisement

नेपालमा ऊर्जामा लगानीको ठूलो सम्भावना देखेको बताउँदै लगानीको लागि आफूहरु इच्छुक रहेको उनको भनाइ छ । दूतावासले आगामी बैशाख १६ र १७ गते काठमाडौंमा हुन लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै नयाँ दिल्लीमा पावर समिट गरेको थियो । 

कार्यक्रममा  भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माले नेपालमा ऊर्जामा लगानी गर्नका लागि उपयुक्र्त वातावरण रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । 

undefined

‘अहिले नेपालमा ऊर्जामा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको छ, लगानी सम्मेलनलाई लक्षित विभिन्न कानूनहरु समेत संशोधन हुन लागेका छन्, अझ सहज वातावरण बन्दै छ,’ उनले भने, ‘नेपालमा धेरै लगानीयोग्य आयोजना छन्, ढुक्क भएर लगानी गर्दा हुन्छ ।’

यस्तै, भारतको ऊर्जा मन्त्रालयका श्रीकान्त नागुलापालीले ऊर्जामा दुई देशबीच सहकार्य, समन्वय र सहजीकरण भईरहेको र भविष्यमा पनि यसैगरी अघि बढ्ने बताए । 

लगानी बोर्डका सह–सचिव बाबुराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै लगानी सम्मेलनमा आउन आह्वान गरे । केयर रेटिङ लिमीटेडका बरिष्ठ निर्देशक सव्यासची माजुमदारले नेपालको ऊर्जा विकासका लागि रेटिङ महत्वपूर्ण हुने बताए । 

ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा भारतीय कम्पनीहरुलाई लगानी गर्न आह्वान गरे । साथै, उनले ऊर्जा व्यापारका लागि पनि सबैभन्दा ठूलो अवसर आएको बताए 

उनले नेपालमा धेरै ऊर्जाका आयोजनाहरु अघि बढेकोले भारतीय लगानीकर्ता र व्यवसायीका लागि अहिले सबैभन्दा ठूलो अवसर आएको भएको बताए । 

‘नेपालमा सन २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्यसहितको मार्गचित्र तयार भइसकेको छ, यसले भारतीय लगानीकर्ताहरुलाई लगानीको लागि ठूलो अवसर निर्माण भएको छ, ऊर्जामा उपयोग हुने अधिकांश प्रविधिदेखि मेशिन र उपकरणहरु समेत भारतबाटै आउने हुनाले व्यापार र व्यवसायका लागि पनि ठूलो अवसर सिर्जना हुँदैछ ।’ उनले बताए । 

नेपालले उत्पादन गर्ने उक्त परिमाणको विद्युत् मध्ये १५ हजार मेगावाट भारत र बंगलादेशमा निर्यात गर्ने उद्देश्य राखेको छ । भर्खरै मात्र नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत खरिद विक्रीको दीर्घकालिन विद्युत व्यापार सम्झौता भएकोले भारतीय लगानीकर्ताले आँखा चिम्लेर नेपालमा लगानी गर्दा पनि फरक नपर्ने उनको भनाइ  छ। 

नेपालमा अहिले करीब ३ हजार मेगावाट विद्युत उत्पादन हुँदा २ हजार ३०० मेगावाट निजी क्षेत्रबाट मात्रै उत्पादन भइरहेको छ । यसका अलावा ३ हजार ३०० मेगावाट निर्माणाधीन, ३ हजार ६०० मेगावाटका आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा र १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेका छन् । 

सबै गरेर ३० हजार मेगावाटका विद्युत आयोजनाहरु विभिन्न चरणमा रहेको र तत्कालै लगानी गरेर विकास गर्न सकिने ’रेडि टु गो’ आयोजनाको संख्या समेत धेरै रहेकोले भारतीय लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न कार्कीले आग्रह गरे ।

ऊर्जा उत्पादकहरुको छाता संस्थाको हैसियतले इप्पानले नेपाल आउने जोसुकै लगानीकर्तालाई पनि सहजीकरण र सहयोग गर्ने पनि उनले बताए । 
यस्तै, उनले नेपाली निजी क्षेत्र पनि भारतीय निजी क्षेत्रसँग मिलेर ऊर्जा विकासमा सहकार्य गर्न चाहेको बताए ।  भारतसँगको विद्युत आदानप्रदानका लागि नेपालमा निजी क्षेत्रबाट ५ वटा कम्पनी स्थापना भइसकेको र अनुमतिपत्रको पखाईमा रहेको उनको भनाइ छ । 

इप्पान अध्यक्ष कार्कीले आगामी बैशाख १२, १३ र १४ मा इप्पानले हिमालयन हाइड्रो एक्स्पोको आयोजना गरिएको जानकारी दिँदै यसमा सहभागी हुन लगानीकर्ता, उत्पादनकर्ता, आपूर्तिकर्ता लगायतलाई आग्रह गरे । समिटमा नेपाल र भारतका ऊर्जासँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रका १५० भन्दा बढी प्रतिनीधिहरुको सहभागिता रहेको छ ।

undefined

Advertisement

Advertisement