छ सय मेगावाटका ४ परियोजनामा एक खर्ब लगानी स्वीकृत, साढे ५४ अर्ब विदेशबाट आउने

Advertisement

काठमाडौं । सरकारले झण्डै ६०० मेगावाट क्षमताका चार वटा परियोजनामा झण्डै एक खर्ब रुपियाँ लगानी स्वीकृत गरेको छ । त्यसमा ५४ अर्ब ५१ करोड रुपियाँ विदेशी लगानी स्वीकृत गरिएको छ ।

बिहीबार लगानी बोर्डको बैंठकले उक्त लगानी स्वीकृत गरेको हो । बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अध्यक्षतामा बोर्ड बैठक बसेको थियो ।

Advertisement

बैठकले १६६ मेगावाटको सुपर तमोर जलविद्युत् आयोजनामा ३४ अर्ब ५९ करोड रुपियाँ लगानी स्वीकृत गरिएको छ । यसैगरी ४२ मेगावाटको माथिल्लो मोदी जलविद्युत् परियोजनामा १० अर्ब ८ करोड रुपियाँ लगानी स्वीकृत गरिएको छ । यी दुवै आयोजना स्वदेशी लगानीमा बन्दैछन् ।

यसैगरी विदेशी लगानीका अन्य दुई परियोजनामा पनि लगानी स्वीकृत गरिएको छ । त्यसमा २५० मेगावाटको राइजेन सोलार परियोजनामा २१ अर्ब १० करोड रुपियाँ लगानी स्वीकृत गरिएको छ । बाँके र कपिलबस्तुमा भन्ने यस परियोजनामा सिंगापुरको लगानी आउँदैछ । 

यसैगरी १३९.२ मेगावाटको तल्लो मनाङ मर्स्याङदी जलविद्युत् आयोजनामा ३३ अर्ब ४१ करोड रुपियाँ लगानी स्वीकृत भएको छ । यस परियोजनामा चिनियाँ लगानी आउँदैछ । बैठकले बैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । 

 

Advertisement