उद्योगी व्यवसायीहरु उद्योग मन्त्रालय आएर देउसीभैली खेल्ने अवस्था अन्त्य गछौंः उद्योगमन्त्री

Advertisement

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योगमैत्री र लगानीमैत्री वातावरण सिर्जना गर्ने दावी गरेका छन् । 

सोमवार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको कार्यक्रममा उनले सरकारले उद्योगमैत्री कानून बनाएर अन्तिम चरणमा पुर्याएको दाबी पनि गरे । सरकारले निजी क्षेत्रलाई बलियो बनाउँदै उद्योग क्षेत्रमा देखिएका सम्भावनालाई पूरा गर्नेगरी काम भइरहेको भण्डारीले बताए । 

Advertisement

उद्योगमन्त्री भण्डारीले समयाअनकुल उद्योग नीति, वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई समयाअनकुल अगाडि बढाउने बताए । उनले सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा रहेको भन्दै आगामी बजेटमा हर्बल तथा जडिबुटी उद्योगलाई दिइरहेको सहुलियतलाई निरन्तरता दिने उल्लेख गरे । 

करको विषयमा उद्योगी व्यवसायीहरुका असहमतिलाई नीतिगत रुपमा समाधान गर्नेगरी बजेट आउने भण्डारीले बताए । उनले विश्व बजारसँग प्रतिष्पर्धा गर्न नेपालको प्राकृतिक सम्पदा र स्रोतहरुमा बढी केन्द्रित वस्तुहरु उत्पादनमा जोड दिनुपर्ने बताए । भण्डारीले नेपालमा यही क्षेत्रमा रोजगारी सिर्जना गरी नेपाली उत्पादनहरुलाई निर्यात गर्ने वातावरण बनाउनु पर्ने बताए । 

उनले उद्योग नीतिमा भएका अस्पष्टताहरुलाई सरकारले चाँडै समाधान गर्ने प्रतिवद्धता जनाए । भण्डारीले १० वटा उद्योगसँग सम्बन्धी ऐनहरु संशोधन गरेर उद्योगी व्यवसायीहरु उद्योग मन्त्रालय आएर मागहरु पूरा गरौं भन्ने देउसीभैलीको अन्त्य गरी ढुक्कले लगानी गर्ने वातावरण सिर्जना गरिने बताए । 

उनले भने, ‘उद्योगमैत्री कानून बनाउने अन्तिम चरणमा पुगेका छौं । त्यसको प्रक्रियामा अगाडि बढेका छौं । यही संसदको अधिवेशनमा उद्योग मन्त्रालयको तर्फबाट १० वटा कानूनहरु संशोधनको प्रक्रियामा अगाडि बढाएका छौं । त्यसमा सरकारको छुट्टै छैन । जब निजी क्षेत्र बलियो हुँदैन । त्यहाँका सम्भावनालाई देख्दैन भने सरकार दायित्वबाट पछाडी हट्दैन । सरकार त्यो दायित्वलाई पूरा गर्न निजी क्षेत्रसँग पर्याप्त छलफल गरेर यही संसदको अधिवेशन अबको एक साताभित्र अहिले सरकारभित्र रहेका परिर्वति सन्दर्भमा कानूनहरुलाई परिमार्जित गरेर उद्योगमैत्री, लगानीमैत्री वातावरण सिर्जना गर्नेछौं ।’ 

मन्त्री भण्डारीले थपे, ‘सरकारले समयाअनकुल उद्योग नीति, वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई समयाअनकुल अगाडि बढाउनु पर्ने र करका विषयहरु पनि छन् । सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा छ । बजेटमा पनि हर्बल तथा जडिबुटी उद्योगलाई दिनु पर्ने सहुलियत दिन्छ । उद्योग मन्त्रालय उद्योगीहरुको पक्षमा छ । करको विषयमा उद्योगी व्यवसायीहरुका असहमतिहरु छन् । त्यसलाई कसरी नीतिगत रुपमा समाधान गर्न सकिन्छ । कच्चा पदार्थ आयात गरेर चल्ने उद्योग सफल हुन सकेका छैनन् । विश्व बजारसँग प्रतिस्पर्धा गर्न सकेको छैन । त्यसैले नेपालको प्राकृतिक सम्पदा,स्रोतहरुमा बढी केन्द्रित गर्नुपर्ने छ । रोजगारी सिर्जना गरी नेपाली उत्पादनहरुलाई निर्यात गर्ने वातावरण बनाउनु पर्नेछ ।’ 

मन्त्री भण्डारीले बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रमहरु ल्याउन लागेको पनि बताए । उनले स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न प्रधानमन्त्री नेपाली अभिवद्धि कार्यक्रम ल्याउँन लागेको जानकारी दिए । भण्डारीले स्टार्ट अफ नीति यो महिनाको अन्त्यमा कार्यान्वयनमा ल्याउने तयारी रहेको पनि बताए । 

Advertisement

Advertisement