एक हजार दुई सयलाई निम्तो पठाइएकोमा जम्मा दुई सयको आउने आश्वासन

विश्वका अर्बपतिहरुले स्वीकारेनन् लगानी सम्मेलनको निम्तो, ज्याक्मा र जेफ बेजोसले भने– आउँदिन

Advertisement

काठमाडौं । विश्वका अर्बपति सुचीमा रहेका धनाढ्यहरुले लगानी सम्मेलनको निम्तो अस्वीकार गरेका छन् । 

आगामी बैशाख १६ र १७ गते राजधानीमा हुने तेस्रो लगानी सम्मेलनमा वक्ताकैरुपमा सहभागी हुन सरकारले एलन मस्क, जेफ बेजोस्, ज्याक्मा, मार्क जुगरबर्क, गौतम अडानी, मुकेश अम्बानी जस्ता अर्बपतिको सुचीमा रहेका १७ धनाढ्यलाई गत माघमै निम्तो पठाएको थियो । 

Advertisement

तर, हालसम्म कसैले सम्मेलनमा सहभागी हुने भनेर जवाफ पठाएका छैनन् । ज्याक्मा र जेफ बेजोसले सम्मेलनमा सहभागी हुन नसक्ने जवाफ पठाएका छन् । अन्य १५ जनाले भने हालसम्म कुनै जवाफ नपठाएको लगानी बोर्डका एक उच्च अधिकारीले बताए । 

गत पुसमा तत्कालिन अर्थमन्त्री प्रकाशशरण महतले भारत भ्रमणका क्रममा भारतीय अर्बपति गौतम अडानीसँग भेटवार्ता गरेका थिए । त्यस क्रममा अडानीले लगानी सम्मेलनमा उपस्थित हुने आश्वासन दिएका थिए । त्यसपछि उनलाई औपचारिक रुपमा निम्तो पनि पठाइएको थियो । 

तर, केही महिना अघि नेपालको सत्तासमीकरणमा आएको परिवर्तनसँगै महत अर्थमन्त्रीको पदबाट बाहिरिएका छन् भने नयाँ अर्थमन्त्रीको रुपमा कम्युनिष्ट नेता वर्षमान पुन आएका छन् । हिंसात्मक पृष्टभूमिका पुन पछिल्लो समयमा सुन तस्करी प्रकरणमा समेत मुछिएका छन् । 

त्यो अवस्थामा गौतम अडानी आउने÷नआउनेमा भन्नेमा अन्योल भएको बताइन्छ । हालसम्म कसैले पनि निम्तो स्वीकार नगरेको हुँदा लगानी सम्मेलनमा धनाढ्य व्यक्तिको उपस्थिति हुनेमा चुनौती आशंका देखिएको बोर्डका अधिकारीहरु बताउछन् । 


सरकारले लगानी सम्मेलनमा उपस्थित हुन लगानीकर्ता, दाता, विज्ञ लगायत १२ सय भन्दा बढीलाई निम्तो पठाएको थियो । त्यसमा हालसम्म लगभग २०० जनाले मात्रै सम्मेलनमा सहभागी हुने जवाफ पठाएका छन् । 

सरकारले सम्मेलनमा झण्डै एक हजार हाराहारीमा विदेशी भित्र्याउने लक्ष्य लिएको छ । तर, लक्ष्यअनुसार विदेशी लगानीकर्ता, दाता तथा विज्ञहरुको उपस्थीति हुनेमा चुनौती समेत देखिएको स्रोतको भनाइ छ । 
 

Advertisement

Advertisement