अर्थमन्त्रीलाई भेटेर पर्यटन व्यवसायीले भने– बजेटमार्फत विलासिता कर र भ्याट हटाइयोस्

Advertisement

काठमाडौं । पर्यटनसँग सम्बन्धित संघसंस्थाले आउँदो बजेटमार्फत पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गर्नुपर्ने प्रमुख कामका विषयमा अर्थमन्त्री वर्षमान पुनलाई ज्ञापन पत्र बुझाएको छ । 

पर्यटन संघ संस्थाहरुको तर्फबाट होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपालको वर्तमान पर्यटन क्षेत्रले ३५ लाख पर्यटक लगायतका सेवाग्राहीहरुलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता विकास भइसकेको भएता पनि वर्तमान पर्यटन आगमन क्षमताको एक तिहाईको हाराहारीमा रहेको हुँदा समग्र क्षेत्रले सञ्चालन खर्च पनि जुटाउन नसकेको बताए । 

Advertisement

यस क्षेत्रको विकास र विस्तारका लागि बजेटले मौजूदा वस्तुस्थितिको सुक्ष्म समीक्षा आवश्यक रहेको र यस क्षेत्रको संस्थागत सुदृढिकरणका लागि उपयुक्त कार्यनीति तथा कार्यक्रम आवश्यक रहेको अर्थमन्त्रीमा अवगत गरायो । बजेटले करको दर भन्दा पनि दायरा बढाउनु पर्ने बताउँदै अध्यक्ष शाहले होटलमा लागेको विलासिता कर हटाइनुपर्ने बताए । 

यसैगरी नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापाले हवाई यात्रामा लागेको मूल्य अभिवृद्धि कर (भ्याट) व्यवहारिक नभएको र हवाई टिकट जारी गर्ने कार्य नेपालभन्दा बाहिर हुन थालेको गम्भीर स्थितिबारे बताउँदै हवाई यात्रामा लागेको कर खारेजीको माग गरे । 

होटल तथा पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता तथा सेवा सुविधा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । 

मन्त्री पुनले पर्यटन व्यवसायीहरुको जाहेज माग बारे अध्ययन गरी यसतर्फ उपयुक्त तथा सकारात्मक कदम चालिने आश्वासन दिए । भेटमा नाराका अध्यक्ष शिव अधिकारी, एनएमएका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे, नाटाका महासचिव कुमारमणि थपलिया, नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र लामालगायत थिए । 

Advertisement

Advertisement