'श्रमिकको सीप विकासका लागि के गर्नुपर्छ प्रस्ताव ल्याउनुहोस्, सबै खालको सहयोग गर्न तयार छौं'

Advertisement

काठमाडौं । नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहमद एलएई अन्सारीले नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनका विषयमा चासो व्यक्त गरेका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग मङ्गलबार सिंहदरबारमा भएको भेटका अवसरमा राजदूत अन्सारीले लगानी सम्मेलनका विषयमा व्यक्त गरेका हुन् । भेटमा श्रममन्त्री अर्यालले नेपालले गर्न लागेको लगानी सम्मेलन विदेशी लगानीकर्तालाई लक्षित गरेर गरिएकाले कतारबाट पनि सहयोग आउनेमा विश्वास व्यक्त गरे । 

Advertisement

यस्तै श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न राजदूत अन्सारीसँग आग्रह गरे । ‘हामी सिपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सिपयुक्त बनाउन चाहन्छौँ । त्यसैले श्रमिकको सिप विकासमा तपाईंको सहयोगको अपेक्षा गरेका छौँ,’ श्रममन्त्री अर्यालले भने । 

त्यस्तै कतारले ठूलो सङ्ख्यामा रहेका नेपाली श्रमिकलाई रोजगारीका लागि अवसर दिएकोमा धन्यवाद दिँदै मन्त्री अर्यालले भने, ‘कतारले नेपाली श्रमिकलाई पारिश्रमिक र तलब सेवामा कुनै विभेद गर्दैन भन्नेमा विश्वस्त छौँ ।’ 

साथै उनले कतारले पछिल्ला वर्षमा मर्यादित र व्यवस्थित श्रमको अभ्यास सुरु गरेको प्रशंसा गरे । 

भेटमा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद एलएई अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुकको बताए । कतारको विकासमा नेपाली श्रमिकको ठुलो योगदान रहेको भन्दै नेपाली श्रमिकको सीप विकासका लागि कतार सहयोग गर्न कतार तयार रहेको बताए । 

‘नेपाली श्रमिकको सीप विकासका लागि के के गर्नुपर्छ प्रस्ताव ल्याउनुहोस् । हामी सबै खालको सहयोग गर्न तयार छौँ,’ राजदूत अन्सारीले भने । 

भेटमा क्रममा कतार सरकार प्रमुख अमिर सेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण विषयमा पनि छलफल भएको थियो । 

वैदेशिक रोजगार विभागका अनुसार कतारमा हाल तीन लाख ६७ हजार ३८९ नेपाली श्रमिक छन् । जसमध्ये पुरुषको सङ्ख्या तीन लाख ५१ हजार ८३४ छ भने महिला श्रमिकको सङ्ख्या १५ हजार ५५५ रहेको छ । 

Advertisement

Advertisement