ठूला आयोजना अगाडि बढाउँदैछौः ऊर्जामन्त्री बस्नेत

Advertisement

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्ने अवस्थामा रहेको बताएका छन् ।  

लगानी सम्मेलनको दोस्रो दिन आज ऊर्जा क्षेत्रका सम्बन्धमा आयोजित छलफलमा उनले एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी, छ सय ३५ मेगावाट क्षमताको दुधकोशी निर्माणमा जाने अन्तिम तयारीमा रहेको बताए ।  

Advertisement

उनले चार सय १७ मेगावाट क्षमताको नलसिंह गाड, एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण पनि निर्माणमा जाने अन्तिम तयारीमा रहेको जानकारी दिए । मन्त्री बस्नेतले ती आयोजना आन्तरिक रुपमा बिजुलीको सहज आपूर्तिका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्यातका लागि समेत योग्य रहेको बताए ।  

दर्जनौं जलविद्युत् आयोजना, सौर्य परियोजना पाइपलाइनमा रहेको जानकारी दिँदै मन्त्री बस्नेतले ती आयोजना सम्पन्न भएपछि नेपालको नवीकरणीय ऊर्जा क्षेत्रले नयाँ फड्को मार्ने र दिगो भविष्यका लागि समेत योग्य रहने स्पष्ट पारे ।   

ऊर्जा क्षेत्रमा लगानी भित्र्याउनका लागि सरकारले ग्रीन बण्डको अवधारणामा काम गरिरहेको र त्यसमार्फत यस क्षेत्रमा थप लगानी विस्तार गर्ने बताए ।  

सरकारले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्यसहित ऊर्जा मार्गचित्र तयार पारेको जानकारी दिँदै त्यसका लागि रु ४६ खर्ब बराबरको लगानी जरुरी रहेको स्पष्ट पारे ।  

सरकारले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली, नौ सय मेगावाट क्षमताको अरुण तेस्रो, सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको एसआर–६ परियोजनालाई प्रक्रियामा अगाडि बढाएको जानकारी दिए ।  

सरकारले सन् २०४५ सम्म शुन्य कार्बनको नीति अख्तियार गरेको जानकारी दिँदै अन्तर्राष्ट्रिय स्तरमा जनाएको प्रतिबद्धताअनुसार नै काम गर्ने विश्वास दिलाए । विश्व जलवायु कोष र ग्रीन फण्डमार्फत जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाउन सकिने उनको कथन छ । 

विद्युत् व्यापारका लागि भारततर्फ विभिन्न पाँच वटा उच्च क्षमताका प्रसारण लाइन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको र सन् २०३५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । 

मन्त्री बस्नेतले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा रहेको, बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणमा अगाडि बढेको उल्लेख गर्दैै मन्त्री बस्नेतले दुहवी–पूर्णिया र दोदोधारा–बेरेली प्रसारण लाइन निर्माणलाई प्रक्रियामा लैजान लागिएको बताए ।  

कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयका सहसचिव सागरराज गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए ।  

Advertisement

Advertisement