नेपाल एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा, विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

Advertisement

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । 

ओमानको अल अमेरत खेल मैदानमा भएको आजको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो । पहिलो ब्याटिङ गरेको साउदी अरेबियाले नेपाल सामू जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

Advertisement

सो लक्ष्य नेपालले सात दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि गुलसन झाले अविजित ३२ रन बनाए । उनले १९ बल खेल्ने क्रममा दुई छक्का र दुई चौका प्रहार गरे । साथै दीपेन्द्र सिंह ऐरीले १७ र कप्तान रोहित पौडेलले १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।     

साउदी अरेबियाका लागि इस्तिक अहमदले दुई विकेट लिए भने उसमान नाजीव र वाजी उल हसनले एक÷एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको थियो । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुईरदुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एक-एक विकेट लिए ।

समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन् । त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन् । 

ऐरी हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । उनले उक्त प्रतियोगताअन्तर्गत कतारविरुद्धको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका थिए । 

ब्याट्सम्यानको नयाँ वरियतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन् । त्यस्तै कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन् ।

Advertisement

Advertisement