पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधिको पहिलो संशोधन खारेज

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो शंसोधन खारेज गरेको छ । 

विहीबार मन्त्रिस्तरीय निर्णयबाट गत २०८० असोज ७ गते गरिएको कार्यविधिको पहिलो शंसोधन खारेज गरिएको हो ।

Advertisement

गत पुस २४ गते प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरिक रोजगारी प्रवर्द्धन, वैदेशिक रोजगारी व्यवस्थापन र सामाजिक सुरक्षा लगायतका बिषयमा मन्त्रालयलाई १६ बुँदे निर्देशन दिएका थिए । 

प्रधानमन्त्रीको निर्देशनको कार्यान्वयनको अवस्था र कार्यान्वनयमा देखिएका समस्या लगायतका बिषयमा अध्ययन गरी सुझाव पेश गर्न मन्त्रालयले गत फागुन २९ गते एक कार्यदल गठन गरेको थियो । कार्यदलले गत चैत २७ गते नै श्रममन्त्री डोलप्रसाद अर्याललाई प्रतिवेदन बुझाएको थियो । 

कार्यदलको सुझाव अनुसार मन्त्रालयले कार्यविधिको पहिलो संशोधन खारेज गरेको हो । 

कार्यविधि शंसोधनको खारेजीसँगै पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क ७०० नै कायम भएको छ । तर, कार्यविधिलाई व्यवहारिक र समयसापेक्ष बनाउनका लागि आवश्यक सुझाव दिन एक समिति गठन गरिने भएको छ ।  

मन्त्रालय अन्तरगतको सीप विकास तथा तालिम शाखा प्रमुखको संयोजकत्वमा ३० दिन भित्र सुझाव पेश गर्ने गरी समिति गठन गरिएको छ । समितिले सरोकारवालाहरुसँग समेत छलफल गरी पाठ्यक्रम र तालिमको मोडालिटी तय गर्नेछ भने तालिमको शुल्कको बिषयमा समेत मन्त्रालयलाई सुझाव दिनेछ । 

त्यस्तै, मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि अँग्रेजी भाषा अनिवार्य गर्ने सम्बन्धि २०८० मंसिर ६ गतेको निर्णय समेत खारेज गरेको छ । यो निर्णयसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकले  अँग्रेजी भाषाको परिक्षा दिनुपर्ने छैन ।  

यसका साथै मन्त्रालयले वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने (पहिलो शंसोधन) कार्यविधि २०८० समेत खारेज गरेको छ । 

कार्यदलको सुझाव अनुसार कार्यविधि खारेज गरिएको हो । मागपत्र प्रमाणीकरण निर्देशिका २०७५ को व्यवस्था अनुसार मागपत्र प्रमाणीकरण गर्ने निर्णय गरिएको छ । निर्देशिका बमोजिम मागपत्र प्रमाणिकरणको काम सम्बन्धित मुलुकमा रहेका दूतावासले नै गर्नेछन् । 

कार्यदलले दिएको प्रतिवेदन अनुसार अन्य सुझावहरु कार्यान्वयनका लागि अध्ययन भै रहेको छ । प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गर्दै जाने मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement