काठमाडौं । सोलुखुम्बुको लोबुचेमा पोर्टर (भरिया) हरुको लागि आवास निर्माण गरिने भएको छ ।
आज खुम्बु पासाङल्हामु गाउँपालिका र निम्सदाई फाउन्डेसनबीच लोबुचेमा लोबुचे पोर्टरहरूका लागि आवास निर्माण गर्ने सम्झौता भएको हो । उक्त सम्झौतामा खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पा र निम्सदाई फाउन्डेसनका कार्यकारी निर्देशक ग्लेन मलेनले हस्ताक्षर गरेका छन् ।
पोर्टरहरूको आवास निर्माण कार्य यही हप्ताबाट शुरु हुनेछ । उक्त आवासको कूल क्षमता ८४ जनाको हुनेछ । आवास निर्माणका लागि निम्सदाई फाउन्डेसनले ५ करोड ९० लाख र खुम्बु पासाङ्गल्हामु गाउँपालिकाले ५० लाख रुपियाँ लगानी गर्ने सहमति भएको छ ।
आवास निर्माण सम्पन्न भएसँगै पदयात्रीहरुको उपचारका लागि क्लिनिक पनि राखिने छ । पोर्टरहरूका लागि १२ महिनाभित्र आवासको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष शेर्पाले बताए ।
उक्त निर्माण कार्य खुन्दे सामुदायिक संस्थाले गर्नेछ ।
लोबुचेमा ‘पोर्टर’का लागि नयाँ लज बनाइने, बस्न खान निकै सहज र सस्तो हुने दावी