नेशनल लाइफ, शाइन रेसुंगा र ग्रामीण विकासको एक लाख कित्ता संस्थापक शेयर लिलामीमा

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आ–आफ्ना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख एक हजार ४४५ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेका छन् । 

यी शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनी तथा जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

Advertisement

नेशनल लाइफले स्वदेशी सेक्युरिटिज एन्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको १५ हजार ९४५ कित्ता शेयर लिलामीमा राखेको छ । प्रारम्भिक मूल्य प्रतिकित्ता २२५ रुपियाँ तोकिएको उक्त शेयरमा न्यूनतम दुई हजार कित्ता र अधिकतम सबै कित्ता शेयर खरिद गर्न सकिनेछ । खरिदका लागि बोलपत्र पेस गर्नुपर्नेछ । 

त्यसैगरी, शाइन रेसुंगाले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ३५ हजार कित्ता शेयर लिलामीमा ल्याएको छ । प्रतिकित्ता न्यूनतम १२० रुपियाँ निर्धारण गरिएको यस शेयरमा बोलपत्र पेस गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतम सबै कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।

साथै, ग्रामीण विकास लघुवित्तले पनि प्रुडेन्सियल क्यापिटल र श्री गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको क्रमशः २८ हजार कित्ता र २२ हजार ५०० कित्ता शेयर लिलामीमा ल्याएको छ । यी दुवै लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपियाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतम सबै कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।

उल्लेखित लिलामी शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने बताइएको छ । 

बोलपत्र काठमाडौं, थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेडमा पेस गर्नुपर्नेछ । बोलपत्र आवेदन पनि सोही स्थानमा पाइनेछ । 

सबै लिलामी शेयरमा वैशाख २१ गतेसम्म खरिद आवेदन दिन सकिने सम्बन्धित कम्पनीले जनाएका छन् । 

Advertisement