बुढानीलकण्ठ नगरपालिकाका मेयरलगायतलाई एक महिना कैदमा पठाउन अदालतको आदेश

Advertisement

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई एक महिनाको कैद सजाय सुनाएको छ ।

अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै मेयर अधिकारीलाई कैद सजाय सुनाएको हो । न्यायाधीश राजेन्द्र आचार्यको इजलासले अदालतको अवहेलना गरिएको ठहर गर्दै अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई पनि एक महिना कैदको आदेश सुनाइएको छ ।

Advertisement

मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको भन्दै आदेशमा भनिएको छ, ‘‘माथि उल्लिखित कैदका हकमा प्रतिवादीहरुले अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडिदिएको प्रतिवेदन पेश गरेमा उक्त कैद असुल गर्न पर्दैन ।’ तर ६० दिनभित्र पनि संरचना हटाई नलगेमा अदालतबाट संरचना हटाइदिन र लागेको खर्च बुढानीलकण्ठ नगरपालिकाबाट असुल गर्न आदेश दिइएको छ ।

यसअघि २०८० मंसिर १७ गते विवादित जग्गा १०० दिनभित्र विपक्षीलाई उपयोग गर्न दिन अदालतले फैसला सनाएको थियो । तर मेयर अधिकारी र दुई वडाध्यक्षले अटेर गरेपछि चन्द्रबहादुर थापाले पुन निवेदन दिएका थिए । सो मुद्दामा काठमाडौं जिल्ला अदालतले गत ११ जेठमा पुनः आदेश सुनाएको हो ।

Advertisement

Advertisement