‘मेरो सम्पत्ति उचित मूल्यका किन्ने कोही आए बेचेर स–परिवार तुरुन्तै विदेशिने मनस्थितिमा पुगेको छु’
‘मेरो सम्पत्ति उचित मूल्यका किन्ने कोही आए बेचेर स–परिवार तुरुन्तै विदेशिने मनस्थितिमा पुगेको छु’
देशको विषम आर्थिक अवस्थाका कारण अहिले धेरै उद्योगी व्यवसायी समस्यामा परेका छन् । देश एक हिसाबले आर्थिक मन्दीको अवस्थामा छ भन्दा पनि हुन्छ । कोरोना महामारीपछि सुरु भएको आर्थिक उचारचढाव, सरकारको अस्थिर नीतिको शिकार सानादेखि ठूला उद्योग व्यवसायीसम्म परेको छ । यसको सबैभन्दा बढी प्रभाव मध्यम खालका उद्योगी व्यापारीहरुमा परेको पीडितहरुको अनुभव र भोगाईबाट देखिन्छ । व्यवसायिक वातावरण नहुँदा मानिसहरु एक पेशाबाट अर्कोमा मात्रै नभएर देशबाटै पलायन हुने र आत्महत्या गर्नेसम्मका घटनाहरु समेत देखिएको छ । बैंकिङ क्षेत्रले ऋण प्रवाहमा एकपछि अर्को अठोर नीति लिने र तरलता संकुचनको कारण देखाउँदै ब्याजदर अस्वाभाविक रुपमा बढाउने जस्ता कुराले आफूजस्ता मध्यम वर्गीय व्यवसायीहरु धेरै पीडामा रहेको संगम स्विट्सका संस्थापक संगम शर्मा बताउँछन् । संगम स्विट्स नेपालको लोकप्रिय मिठाईको ब्राण्ड भए पनि शर्मा भने पछिल्लो समय निकै असहज अवस्थामा गुज्रिएका छन् । सहकारीमा पैसा डुब्दा, उधारो कारोबारको पैसा नउठ्दा, बैंकहरुले दुःख दिँदा उनीजस्ता हजारौं व्यवसायीहरु पलायनको अवस्थामा पुगेका छन् । तर आफूहरुको पीडा सुन्ने न राज्य छ, न निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंगठन रहेको उनी बताउँछन् । प्रतिकुल व्यवसायिक वातावरणका कारण घर र सटरहरु खाली हुँदै गएका छन् । यद्यपि व्यवसायी शर्माले कठिन चुनौति सामना गर्दै आफ्नो ब्राण्डप्रतिको विश्वासलाई डगमगाउन दिएका छैनन् । उनीसँगको कुराकानी–
तपाइँ मिठाईको व्यवसायमा कहिले र कसरी लाग्नुभयो ?
म यो व्यवसायमा लागेको त त्यही २७–२८ बर्ष भयो । मैले नै संगम स्विट्स सुरु गरेको हो । त्यसअघि पनि अरु विभिन्न व्यवसाय गरियो । त्यसको छुट्टै इतिहास छ । अहिले भन्दा लामो होला । अगाडिको व्यवसायमा पनि धेरै उतार–चढाव र सफलता–असफलता भोग्दै पछि मिठाइको व्यवसाय सुरु गरेको हो । संगम स्विट्स सुरु गर्दाको सन्दर्भको कुरा गर्दा व्यवसायकै सिलसिलामा एक पटक धरानबाट काँकडभिट्टा जाँदा बाटोमा विरोध प्रदर्शनका कारण दमकमा नै बस्नुपर्यो । त्यतिबेला गाडिले कुखुरा मार्दा पनि सुँगुर मार्दा पनि सडक अवरोध गरेर विरोध गर्ने चलन बढी थियो । त्यतिबेला धरान विकास हुने क्रममा नै थियो । तर खानपिनका लागि धरानमा एउटै शाकाहारी होटल र रेष्टुरेन्ट भेटिएन् । म शाकाहारी मानिस । त्यो समस्या भोगेपछि सोही दिन के निर्णय गरें भने शाकाहारी खानेकुराको व्यवसाय गर्ने । म हिन्दू समुदायको मान्छे, भगवानमा विश्वास गर्ने भएकाले भगवानले नै ‘तिम्रो पेट पाल्ने पेशा व्यवसाय यही हो’ भनेर बाटो देखाइदिएको जस्तो लाग्छ अहिले । मिठाईको व्यवसाय सुरु गर्ने निधो भएपछि सिलगुढीबाट शाकाहारी खानेकुरा बनाउने एउटा टोली ल्याएर यो व्यवसाय सुरु गरेको हो । त्यो दिनदेखि अहिलेसम्म यो व्यवसायबाट राम्रै भएको छ । अरु कुरामा हात हाल्दा समस्या धेरै भोग्नुपरे पनि संगम स्विट्सबाट भने मलाई राम्रो नै भएको छ ।
यो ‘संगम’ नाम चाहिँ कसरी जुराउनुभयो तपाइँले ?
नागरिकतामा मेरो नाम अर्कै छ । यद्यपि संगम नामबाटै म परिचित छु । व्यवसायमा धेरै पटक असफल भएपछि ज्योतिषीलाई देखाइयो । त्यो खालको चलन नै छ हाम्रो । ज्योतिषीले ‘तिमीलाई ‘ब’बाट सुरु भएको व्यवसाय फाप्दैन, ‘स’बाट सुरु हुने व्यवसाय गर’ भने । त्यो बेला धरानमा धेरै मिल्ने साथीहरु थिए । उनीहरुसँग सल्लाह गर्ने गरिन्थ्यो । बरु अहिले व्यवहार बिग्रिएकाले साथीभाई इष्टमित्रबाट टाढा जस्तो हुँदै गइएको छ । यही व्यवसाय सुरु गर्ने सन्दर्भमा ज्योतिषीले भनेअनुसार ‘स’बाट सुरु हुने के नाम राख्नेहोला ? भन्दा चार–पाँच जना साथीले ‘संगम’ भने । त्यही नामबाट अहिलेको व्यवसाय सुरु भएको हो । ‘स’बाट सुरु भएकोले होला, फाप्यो पनि मलाई । धेरै महत्वाकांक्षा राखेर फापेन भन्न पनि सकिन्थ्यो होला । तर म त्यो भन्दिन् ।
तपाइँ पछिल्लो समय समस्यामा हुनुहुन्छ । व्यवहार बिग्रिएको छ । कहाँबाट कसरी समस्यामा पर्नुभयो ?
जतिबेला मैले संगम स्विट्स सुरु गरे, त्यतिबेलाको संघर्षपूर्ण समयमा गाह्रो हुनुपर्ने । तर त्यतिबेला अहिले जस्तो गाह्रो भएन् । किनभने त्यतिबेला ऋण लिन पनि समस्या थियो, चिनजान पनि कम थियो, ज्ञान र अनुभवको पनि कमी थियो । गाह्रो त त्यतिबेला बढी हुनुपर्ने थियो । अहिले आएर ‘व्यवसाय गर्न पनि यति धेरै गाह्रो हुने रहेछ’ भन्ने महशुस हुँदैछ । गएको तीन–चार बर्ष मेरा लागि निकै सकसपूर्ण भएको छ । यस्तो सकस भूकम्प, नाकाबन्दीमा पनि भएन् । कमलपोखरीमा भवन बनाउन जब मैले सुरु गरें, त्यससँगै सुरु भएको आर्थिक संकटले साह्रै ठूलो पीडा भोग्नुपरेको छ । यो डरलाग्दो संकट छ । म धेरै अस्थिर भइसकेको छु । मजस्तै अरु हजारौं व्यवसायीहरु पनि यो भूमरीमा होलान् । हामी जस्ता व्यापारी वर्गका लागि विरलै आउने संकट हो यो । मैले मिठाईको व्यापार सुरु गरेको २७–२८ बर्षमा कहिले पनि यस्तो समस्या झेल्नुपरेको थिएन् । साथीभाईसँग सरसापट गरेर, बैंकबाट ऋण लिएर कुनै परियोजना अघि बढाएकाहरुका लागि यो समय निकै नै असहज बनेको छ । पुस्तौंदेखि व्यापार व्यवसाय गर्ने पुँजी भएकाहरुका लागि त अहिलेको समयले पनि असर नपर्ला । तर म र जस्ता व्यापारीहरुका लागि जीवनमरणको स्थिति छ ।
यो स्थिति आउनेको अन्तर्य के होला जस्तो लाग्छ ? तपाइँको अनुभव र विश्लेषण के छ ?
हुन त म आर्थिक क्षेत्रको विज्ञ होइन् । काम गर्दै जाँदा कमी कमजोरी सच्याउँदै आफ्नो बलबुताले व्यापार गर्ने मानिस हो । यो विषम आर्थिक स्थिति कसरी आयो ? त्यो कुराको गहन तथ्य मैले भन्नसक्ने विषय पनि होइन् । मैले त व्यापार गर्दैगर्दा भोगेको समस्या र पीडा मात्रै भनेको हो । मेरो आफ्नो सामान्य बुझाईमा हाम्रो बैंकिङ प्रणालीमा अचानक विदेशी सिस्टम ल्याइयो । त्यसलाई जबरजस्ती लाद्ने काम भयो । नेपाली उद्योगी व्यवसायीको अवस्था र आवश्यकतालाई विश्लेषण नै नगरी नेपाल राष्ट्र बैंक र बैंकहरुले एकपछि अर्को नीति नियम लाद्न थाले । एउटा गतिमा हिँडिरहेको गाडीलाई एक्कासी मोड्दा गाडीमा बसेका मानिसहरु लड्छन् । अत्तालिन्छन । चोट लाग्छ । त्यो कुरा गाडी चलाउनेले बुझ्नुपर्ने थियो । बुझेनन् । बैंकिङ क्षेत्रले पनि ऋणीहरुलाई नयाँ सिस्टममा बाँध्न थाल्यो जुन कुरा क्रमसः लागू गर्नुपर्ने थियो । स्वदेशी उद्योगी व्यापारीलाई असहज नहोस् भनेर विचार पुर्याउनुपर्नेमा विदेशी संस्थाहरुले दबाब वा सुझाव दिए भन्दैमा हौसियर एकपछि अर्को नीति निर्देशन लागू गर्ने गराउने काम भयो । राष्ट्र बैंक र बैंकहरु त नेपाल जनताको सुविधा र सहजताका लागि हुनुपर्ने थियो । त्यो हुन सकेन, मेरो बुझाईमा । जनता थला पर्ने तर बैंकिङ सिस्टम मात्रै बलियो भएर के गर्नु ? सबै बलियो हुनुपर्छ । यस्तै शैलीले नै त हो मानिसमा निराशा र आक्रोस बढ्दै गएको । मानिसहरुको पलायन बढेर गएको । यो कुरा कस्ले बुझ्ने ? कस्ले बुझाउने ? वित्तीय क्षेत्र संवेदनशील क्षेत्र पनि हो । कसिलो नीति ल्याउँदा बजारमा कस्तो पर्छ ? त्यो कुरालाई पटक्कै ख्याल गरिएन् । अध्ययन गरिएन् ।
भनेपछि मौद्रिक नीतिले नै धेरै समस्या सिर्जना गर्यो भन्ने तपाइँलाई लाग्छ ?
पक्कै पनि । मानौ कसले आफ्नो व्यवसायको आकार प्रकारअनुसार पाँच करोडको ओभरड्राफ्ट चलाइरहेको थियो, त्यसलाई एक्कासी एक करोडमा झार्यो भने त्यो व्यवसायीले एकै पटक चार करोड कहाँबाट ल्याउँछ । चलाईरहेको व्यवसायबाट रातारात नाफा त हुँदैन् । अहिले आर्थिक मन्दीले गर्दा मानिसहरुको क्रयशक्ति कमजोर भएर गएको छ । उपभोग गर्ने ठूलो जनसंख्या देश छोडेर गएकोले पहिला जस्तो उत्पादन र बिक्री छैन् । राज्यको नीति नियम पनि उद्योगी व्यवसायीलाई सहजीकरण गर्ने र सुविधा दिनेभन्दा कसरी हुन्छ कडाई गर्ने, दुःख दिने, बढी कर अशुल्ने भन्ने कुराबाट प्रेरित छ । व्यापारीले खाएका मात्रै छन्, लुटेका मात्रै छन्, यिनीहरुलाई जे गर्दा पनि हुन्छ भन्ने सोच राजनीतिक तहमा, प्रशासनिक तहमा छ । समाजमा पनि त्यसैको प्रभाव परेको छ । तर अहिले धेरै व्यवसायीहरु कष्टपूर्ण अवस्थामा छन् । अहिले बैंकिङ क्षेत्रमा आएको अव्यवहारिक नीति पनि सोही मनोवृत्तिको रुप हो भन्ने लाग्छ ।
अहिले सहकारी संस्थाहरुमा निकै ठूलो समस्या सिर्जना भएको छ । लघुवित्त संस्थाहरुदेखि बैंक वित्तीय संस्थाहरुमा पनि समस्याहरु देखिएका छन् भने तपाइँहरु जस्ता व्यवसायले भोग्दै आएका समस्या अर्कोतिर छ । यी दुवै कुराको अन्तरसम्वन्धलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
अघि पनि मैले भने एकले अर्कोलाई बुझ्ने प्रयास नै गरिएन् । एउटा पक्षको समस्यालाई अर्को पक्षले बेवास्ता गर्ने, उपेक्षा गर्ने अवस्था छ । हामी जस्ता व्यवसायीहरुलाई प्रतिनिधित्व गर्ने संघसंगठन पनि छन् । ती संघसंगठनका टाउके तहले हामी जस्ता मध्यमवर्गीय व्यवसायीले भोगेको जस्तो समस्या नभोगेका पनि हुनसक्छन् । तर एउटा कुरा उनीहरुलाई हामी जस्ता व्यवसायीले भोगेका समस्या बुझ्न, सुन्न, समस्या समाधान गर्न फुर्सद छैन् । जस्तो नेपाल उद्योग बाणिज्य महासंघले ‘तिमीहरुलाई के समस्या परेको छ ? के छ हामीले गर्नुपर्ने ?’ भनेर कहिल्यै सोध्दैन् । चासो दिँदैन् । सर्भे पनि गर्दैन् । उद्योगी व्यवसायीका समस्यामा त यस्ता संस्थाहरुले चासो दिनुपर्ने हो । राज्यले त सहजै हाम्रो कुरा सुन्दैन् । कम्तिमा निजी क्षेत्रका संस्थाहरुले त गाह्रो अप्ठ्यारो के छ ? बुझ्ने प्रयास गर्नुपर्ने हो । त्यो छैन् । वास्तवमै मध्यमवर्गीय व्यवसायीहरु अहिले निकै पीडामा छन् । जसको सरकारी तहमा भेटघाट, वार्ता हुन्छ, उनीहरुलाई हाम्रो जस्तो समस्या नहुने भएपछि किन कुरा उठाउँछन् ? किनभने उनीहरुको पुस्ता र वर्ग नै फरक भइसक्यो । वास्तवमा मध्यम वर्गीय व्यवसायीलाई प्रतिनिधित्व गर्ने संघसंगठन नै भएन् । हामीहरु गएर सम्वन्धित सरकारी निकायमा कुरा गर्दा ‘धेरै जान्ने हुने ? हामीलाई सिकाउने ?’ जस्तो गर्छन् । झन समस्या थपिएला कि ? झन अनावश्यक दुःख दिन्छन् कि भन्ने डर हुन्छ । किनभने राज्यका हरेक निकाय, त्यसको नेतृत्व गर्ने र काम गर्ने धेरै मानिसहरु अनुदार छन् । परपीडक छन् । स्वार्थी छन् । ‘तेरो कुरा सुनेर मलाई के फाइदा ?’ भन्ने ढंगले कुरा गर्छन् । त्यो हुँदा बोल्न डराइन्छ । किनभने रोजीरोटीको कुरा छ । आफ्ना बालबच्चाको भविश्यको कुरा छ । यो खालको परिस्थिति र वातावरणले गर्दा म जस्ता व्यवसायीहरु गुम्सिएर, पीडा सहेर बस्नुपर्ने अवस्था छ ।
तपाइँहरुलाई व्यवसाय गर्ने कुरामा पर्ने मुल समस्याहरु के के हो ?
धेरै कुरा छ । करको कुरा छ । बिजुलीको महशुलको कुरा छ । बैंकको किस्ताको कुरा छ । ब्याजदरको कुरा छ । गुणस्तरको नाममा अनावश्यक दुःख दिने कुरा छ । बिजुलीको महशुस समयमा नतिरेको नाममा २५ प्रतिशत जरिवाना हान्दिन्छ । मैले जानीजानी बदनियतपूर्ण ढंगले कर, विद्युत महशुल नतिरेको होइन् । व्यवहार बिग्रिएर हो नि । समस्या परेर नतिरेको कुरा कस्ले बुझ्ने ? कस्ले सहजीकरण गर्ने ? हरेक महशुल, कर, ब्याजमा चर्को जरिवाना हान्दै गएपछि म त कहिल्यै त्यो पैसा तिर्ननसक्ने हुने भएँ । म ‘डिफल्टर’ हुने भएँ । अहिलेको देशको आर्थिक परिस्थिति सहज छैन् । व्यवसायिक वातावरण छैन् । धेरै उद्योगी व्यवसायीहरु पलायन हुने क्रम बढेको छ । घर र सटरहरु खाली हुँदै गएका छन् । यो त राज्यका संयन्त्रदेखि राजनीति गर्ने सबैले देखेको कुरा हो । तर परिस्थिति जे जस्तो सुकै होस्, तैंले कर अहिले नै तिर, महशुल अहिले नै तिर, नतिरे २५ प्रतिशत जरिवाना हान्छु हाम्रो शासन पद्दती नै अन्धो जस्तो छ । किनभने उसमा विवेक नै छैन् । इमान्दारितापूर्वक व्यवसाय गर्दागर्दैको अवस्थामा व्यवहार बिग्रिएको कुरालाई हेर्ने र बुझ्ने परिपाटी नै विकास भएन् । माथिल्लो तहका उद्योगी व्यापारीहरु, जसको पहुँच माथिसम्म छ, उनीहरुले त मिलाउलान् । तर हाम्रो तहका व्यापारीहरु त्यो गर्न पनि सक्दैनौं । सहने र भोग्ने मात्रै हो । वास्तवमा हामीले राज्यबाट निःशुल्क केही पनि खोजेको होइन् । अहिलेको समस्या कम गर्न ऋण थपिदिए पनि त्यसको ब्याज तिरिहाल्छौं । कर पनि तिछौं । महशुल पनि तिछौं । विद्युत महशुलको बक्यौतालाई किस्तावन्दीमा तिर्ने गरेर नियमित महशुल तिर्न सकिने व्यवस्था गरिदियो भने पनि त हामीलाई केही राहत हुन्छ । आखिर हामी पनि यही देशका नागरिक हौं । अहिलेसम्म राज्यको नीति नियम पालना गरेर कर तिर्दै व्यवसाय गर्दै आएका मानिस हौं नि । यही देशको अर्थतन्त्रका लागि काम गरेका छौं । मेरो यही मिठाईको व्यापारले डेढ सय जनालाई रोजगारी दिएको छ । घीउ, दुध, सागसब्जी बेच्नेहरुबाट सामान किन्दा उनीहरुको पनि गुजारा चलेको छ ।
तपाइँको अहिले ऋण सापटी कति छ ? भन्न मिल्छ ?
भन्न मिल्दैन् । किनभने यति धेरै ऋण किन लियो ? भन्ने पनि हुनसक्छ । एउटा कुरा के भने व्यवसायी भनेको वा भनौं व्यवसायमा लागेको मानिस बढी सिर्जनात्मक हुन्छ । नयाँ गरौं, फरक गरौं, सफलतापूर्वक गरौं । आफू र आफ्नो ब्राण्डलाई अझ प्रवर्द्र्धन गरौं भन्ने सोच राखेको हुन्छ । त्यसका लागि उसले जोखिम मोलेको हुन्छ । अझ बढीलाई रोजगारी दिउँ, अझ बढी कर तिरौं भन्ने सोच राखेको हुन्छ । त्यस क्रममा बैंक वित्तीय संस्थाबाट ऋण लिइन्छ । नपुगे साथीभाई इष्टमित्रसँग सापट मागिन्छ । मैले पनि त्यसरी नै व्यवसाय चलाउने क्रममा ऋण सापटीको दायित्व बढाउनुपर्ने परिस्थिति सिर्जना भयो । देशमा आर्थिक मन्दीको अवस्था यही बेलामा, त्यही बेलामा बैंकिङ क्षेत्रमा एकपछि अर्को कठोर नियम कानुनले गर्दा मेरो समस्या बढ्दै गयो । हिजोका दिनमा मैले ऋण लिँदा ८ प्रतिशतको हाराहारीमा ब्याजदर थियो । यही बीचमा मैले १५ प्रतिशतसम्म ब्याजदर बुझाउनुपर्यो, जुन मैले सोचेको समेत थिइन् । यही बेलामा पहिला जस्तो व्यापार पनि नहुने, ब्याजदर पनि झण्डै दोब्बर हुने । मैले कसरी तिरें होला ? मेरो स्थिति के भयो होला ? भौंतारिँदै कहाँ कहाँ पुगें होला ? कतिजनासँग हारगुहार गरें होला ? यद्यपि अहिलेसम्म म टिकेको छु । टिकाएको छु । यद्यपि मेरो आन्तरिक निकै जटिल बनेको छ । अब त म जेसुकै भए पनि होस् भन्ने परिस्थितिमा पुगेको छु ।
के छ तर उपाय ? निकास के देख्नुहुन्छ ?
मलाई त अहिले केही मानिसलाई भेला पारेर आफ्नो पीडा सुनाउन पाए पनि केही राहत मिल्थ्यो कि भन्ने लाग्छ । अझ अगाडि बढ्दा सुन्नुपर्ने मानिसलाई सिधै आफ्नो समस्या सुनाउन पाए पनि हुन्थ्यो भन्ने लाग्छ । तर त्यहाँसम्म हाम्रो पहुँच छैन् । सुनाउनका लागि उनीहरुलाई भेट्न प्रयास गरे पनि उनीहरुसँग सुन्ने फुर्सद छैन् । भाषणहरु गरेको देख्दा अलिअलि समस्या बुझेको, समाधान गर्न खाजेको हो कि जस्तो पनि देखिन्छ । तर विशेषगरी मध्यमवर्गीय व्यवसायीहरुको अवस्था निकै जटिल भइसकेको छ भन्ने कुरा उनीहरुलाई पनि थाहा नहुनसक्छ । समस्या सम्वन्धित् व्यक्तिसम्म पुर्याइदिने इमान्दार व्यक्ति र संस्थाहरु पनि भएन् । अझै पनि मलाई आशा छ कि अर्थतन्त्र चाँडै सुध्रिन्छ । सुधार्छन होला । म सकारात्मक नै सोच राख्ने भएकाले त्यो आशा राख्छु । शासन गर्नेहरुमा पक्कै पनि हाम्रो समस्या पुग्ला । जनताको पीडा पुग्ला । कसैले मलाई प्रधानमन्त्रीदेखि राष्ट्र बैंकका गभर्नरसम्म पुग्ने र कुरा राख्ने समय मिलाइदिए पनि हुन्थ्यो भन्ने लाग्छ । समस्याको निकास खोज्न कुनै सिद्धान्तका कुरा गरेर मात्रै हुँदैन् । व्यवहारिकरुपमा समस्यालाई बुझ्न जरुरी हुन्छ । उहाँहरुले समस्याको चुरो बुझ्नसक्नुभयो र सोअनुसारको निकास खोज्नुभयो, नीति नियममा सुधार गर्नुभयो भने त सबैले राहत महशुल गर्ने अवस्था बन्थ्यो ।
तपाइँले मध्यम वर्गीयको कुरा निकै उठाउनुभयो । किन ?
मैले किन मध्यम वर्गीय व्यवसायीको कुरा उठाएको छु भने ठूलो व्यवसायीलाई माथि लैजाने पनि यही वर्ग हो । साना व्यापारीहरुको उत्पादन र सेवा पनि यही मध्यमले बेचिदिने हो । यो पुल हो । मेरुदण्ड हो । यो वर्ग उठ्यो भने सबैका हित नै हुन्छ । त्यो भएकाले मझौला खालका उद्योगी व्यवसायीहरुलाई थप निराश हुन दिन हुन्न । पलायन हुन बाध्य पार्न हुन्न । टिकाइराख्न जरुरी छ । साना खालका व्यवसायीसँग त्यस्तो ठूलो ऋण र व्यवसायिक जोखिम पनि हुन्न । उनीहरुको कमाई सामान्यरुपमा घट्दा वा बढ्दा ठूलो असर पर्दैन् । ठूला व्यवसायीको यो बर्ष नभए अर्को बर्ष, यो व्यवसायबाट नभए अर्को व्यवसायबाट भन्ने हुन्छ । उहाँहरुलाई हामीलाई जस्तो पुँजीको ठूलो समस्या हुँदैन् । उहाँहरुको पनि समस्या त होला तर हाम्रो जस्तो जटिल पक्कै छैन् । मेरो साढे दुई दशकभन्दा लामो व्यवसायिक अनुभवले पनि के भन्छ भने बीचका व्यवसायीहरुको अवस्था सुध्रियो भने देशकै आर्थिक अवस्था सुध्रिन्छ । अहिले सास फेर्न गाह्रो भएको अवस्था छ । यो बेला अक्सिजन दिइएन भने सास जान अब धेरै समय लाग्दैन् । जबकी मेरो स्विट्सको व्यापार नराम्रो छैन् । व्यापार राम्रै भएको मेरो स्थिति नै दयनीय छ, अरुको के होला अवस्था ?
तपाइँले धेरै पीडा र अनुभव सुनाउनुभयो । वास्तवमा अहिले स्थिति सामान्य छैन भन्ने कुरा घर तथा सटरहरु बन्द हुँदै गएको, व्यवसायीहरु पलायन हुने क्रम बढेको कुराले पनि दर्साउँछ । तपाइँ आफू चाहिँ पलायन हने सोचमा हुनुहुन्छ कि हुनुहुन्न ?
सान्दर्भिक प्रश्न गर्नुभयो । मैले १४ बर्षदेखि व्यवसाय गर्न थालेको हो । वास्तवमा यति हतास म कहिले पनि थिइन् । म सकारात्मक सोच राख्नुपर्छ, मेहनत गर्नुपर्छ, निराश हुनुहुन्न भन्ने मान्यताको मान्छे हो । आजभन्दा पाँच–छ बर्षअघिसम्म मैले विदेश गएका नेपाली दाजुभाई दिदीबहिनीलाई फिर्ता आउने वातावरण बनाउनुर्छ, देशमा उद्यम गर्ने वा रोजगारी गर्ने वातावरण बनाउनुपर्छ भन्थे । त्यो वातावरण सरकारले मात्रै होइन्, सबै मिलेर गर्नुपर्छ भन्थें । त्यही सन्दर्भमा मैले पनि एउटा टिभी कार्यक्रम चलाएर विदेशिएकाहरुलाई फर्किन आव्हान गर्ने सन्देश प्रवाह गर्ने सोच बनाएको थिएँ । त्यस्तो अभियान चलाउन खोज्ने मान्छे आज म चल्तीको रेटमा, रिजनेवल रेटमा मेरो सम्पत्ति किन्दिने कोही आए परिवारसहित तुरुन्तै विदेशिने मनस्थितिमा पुगेको छु । वास्तवमा यो धर्तीले मेरो केही विगारेको केही छैन् । म जहाँ गए पनि यो भूमिको माया हुन्छ । मैले बैंकबाट ऋण लिएर बनाएको भवन हो यो । यही देशमा पलायन हुने भन्ने सोच छैन् । पेट पाल्न जहाँ सहज हुन्छ, त्यहाँ जाने मनस्थितिमा पुगेको छु । अहिले संसार ग्लोबल भिलेज भइसक्यो । किनभने अहिले नै हामी यहाँ दैनिक १७ घण्टा काम गर्छौं । तर नजिता छैन् । बैंकलाई बुझाउन पनि कमाईले पुग्दैन् । मेहनत गर्नेलाई जुन देशमा पनि खुल्ला छ । अवसर छ । वातावरण सहज छ । टिक्नका लागि राहत र सहजीकरणको त खोजी भइरहेको छ । सरकारले नगरे पनि चिनजानका मानिसहरुसँग कुरा भइरहेको छ । बैंकहरुसँग पनि चिनजान र सम्वन्ध नभएको होइन् । उहाँहरु पनि सिस्टमले बाँधिएकाले सहयोग गर्न नसकेको हो । उनीहरुलाई के विश्वास पनि छ भने यो मानिसलाई यो बेलामा दुई–चार करोड ऋण थप्दा तिर्छ । जसले सिस्टम बनायो, उसलाई केहीको पनि दुःख छैन् । को लडेर के हुन्छ र उसलाई ? त्यो भएकाले मध्यम वर्गीय व्यवसायलाई कसरी जोगाउने त्यो चिन्ताको विषय हो । यो वर्गी सक्कियो भने, सबै सक्न्छिन । अहिले त एउटा लड्दा अरुहरुले हेरेर बस्नुपर्ने परिस्थिति छ । एउटाले देश छोड्दा वा संसारै छोड्दा अरुहरु मुकदर्शक भएर बस्नुपर्ने परिस्थिति छ । हामी एउटै डोरीमा छौं, अर्को लड्दा मेरो पनि पालो आउँछ भन्ने जान्दाजान्दै लड्नबाट रोक्न सकेका छैन् । यो परिस्थितिमा बरु पलायन भैलो भने परिवारको कल्याण हुन्छ कि भन्ने हो मेरो । अरुको पनि त्यही बाध्यता होला । किनभने नेपालमा हामीले त्यही १७ घण्टा खट्दा आम्दानी पनि राम्रै हुन्छ । यति धेरै तनाब पनि झेल्नु नपर्ला ।
व्यवहार बिग्रिएर तपाइँलाई सामाजिकरुपमा परेको समस्या, पारिवारिकरुपमा परेको समस्या चाहिँ कस्तो छ ?
धेरै नै समस्या भएको छ । सबैसँग टाढा टाढा जस्तो भएको छ । भेट्नुपर्ने इन्टमित्रहरुसँग भेट्न समय मिलाउन सक्किएको छैन् । हिजो राम्रो सम्वन्ध भएको नजिकको मानिस पनि अहिले टाढिन खोज्ने, सकेसम्म बोल्न नपरे हुन्थ्यो जस्तो गर्ने । यसमा दोषी म कि टाढिन खोज्नेलाई भन्ने ? हिजो यति आवश्यक पर्यो भने कसैसँग सीमित सहयोग मागिन्थ्यो । केही दिनमा त्यसलाई सल्टाइन्थ्यो । त्यो सीमित सहयोग गर्नसक्ने क्षमता उसको पनि भएकोले नै दिन्थ्यो । अहिले दशौं पटक दशौं गुणा बढी मागेपछि जतिसुकै मिल्ने मानिस पनि टाढा हुनु स्वाभाविक हो । यो खालको समस्या प्रायः धेरैको घरमा देखिन्छ । हिजो एक बचनमा सहयोग गर्ने भाईहरुले आज त्यो गर्ननसक्ने परिस्थिति निर्माण भएको छ । सहयोग गर्दागर्दै आफै नाङ्गै हुने हो कि ? भन्ने चिन्ता हुनु स्वाभाविक पनि हो । हिजोका दिनमा छोराछोरीको आवश्यकता सहजरुपमा पूरा गरिन्थ्यो । आज त्यो गर्ननसक्ने अवस्था बनेको छ । समयमा स्कुलको फि तिर्न सकिएन, समयमा किताब किन्न सकिएन भने पारिवारिक विचलन सुरु भइहाल्छ ।
अन्तिममा, नेपालको राजनीति प्रणाली, प्रशासनयन्त्र, अर्थतन्त्र, मौद्रिक प्रणाली सबै कुरा हेर्दा सुधार गर्नुपर्ने कुराहरु के के देख्नुहुन्छ ?
मलाई लागेको नि हरेक कुराहरु सुधार्ने ढंगले लागेको । समस्या सिर्जना गर्ने, समस्या थप्ने काम मात्रै भयो हरेक क्षेत्रमा । म कुनै एक क्षेत्रलाई मात्रै दोषी भन्दिन् । सबै क्षेत्रमा समस्या छ । सबै क्षेत्रमा परिवर्तन र रुपान्तरण भयो भनिन्छ । त्यसले जनजीवनलाई कति सहज बनायो ? कति जनतालाई सुविधा दियो ? उनीहरुको जीवनस्तर सुधार गर्न कति भूमिका खेल्यो ? त्यो कुराको मूल्यांकन हुनुपर्छ । मानिसहरु किन नेपालमा बस्न रुचाउँदैन ? सबै विदेश जान किन खोजीरहेको छ ? किन मानिसहरुमा निराशा र आक्रोस बढ्दो छ ? त्यो कुरा राज्य सञ्चालन गर्नेहरुले विचार गर्नुपर्ने कुरा हो । कुनै पेशा, व्यवसाय गरिरहेको मानिसमा समस्या आयो भने उसलाई सुधार गर्ने, उसलाई शिक्षा दिने, सचेत गराउने भन्दा पनि कमजोरी खोजेर हानीहालौं भन्ने प्रवृत्ति यहाँका प्रशासक र नियामकहरुमा छ । एउटा सामान्य ट्राफिक प्रहरी लुकेर बसेर चिट काट्न पायो भने गर्व गर्छ । यस्तै कामकारवाही गरेर आफ्नो कार्यप्रगति माथि देखाउने संस्कार विकास भएको छ सबैतिर । हरेक व्यक्ति र संस्था स्वार्थी बन्दी गएको अवस्था छ । हाम्रो संस्थाहरु र संस्थाका प्रमुखहरुको विकास नै त्यसरी हुन थालेको छ ।