काठमाडौंः नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउनुपर्ने भन्दै नबढाए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर एशोसियशनले प्राविधिक नोक्सानीबाट आफूहरुले भोग्दै आएको नोक्सानीको क्षतिपूर्तिका लागि कमिशन बढाउन माग गरेको हो । एशोसियशनका अध्यक्ष लीलेन्द्र प्रधानले व्यवसायीले अघिसारेका समस्या समाधान गर्न आयल निगम सञ्चालक समिति उदासीन रहेको बताए ।
उनले आफूहरुको माग सुनुवाइ नभए आगामी साउन ३१ गतेदेखि पेट्रोलियम पदार्थको कारोबार बन्द गर्ने चेतावनी दिए । एशोसियशनले यसअघि पनि यस्तो चेतावनी दिएको थियो । प्रधानका अनुसार भोलि साउन २६ गतेदेखि पेट्रोलियम पदार्थ डिपोबाट खरिद नगर्ने बताए ।
उनले भने, “निगमले आफूहरुले राखेका माग असार मसान्तभित्र समाधान गर्ने प्रतिबद्धता जनाएको थियो तर अहिलेसम्म पूरा गरेको छैन ।” व्यवसायीले चार हजार लिटर पेट्रोल ढुवानी गर्दा करिब ८५ लिटर प्राविधिक नोक्सानी हुने र त्यस्तो नोक्सानीको भरपाई निगमले गर्नुपर्ने बताइआएका छन् । हाल निगमले चार हजार लिटरमा ३५ लिटर क्षतिपूर्ति स्वरुप उपलब्ध गराइआएको छ ।