चन्द्रागिरीले अनावश्यक कर लिएको कबाडी व्यवसायीको गुनासो, फिर्ता नगरे थानकोट ठप्प पार्ने चेतावनी

Advertisement

काठमाडौं । नेपाल कबाडी व्यवसायी समाजले चन्द्रागिरी नगरपालिकाले कबाडी व्यवसायीहरुसँग अव्यवहारिक रुपमा दोहोरो कर लिएको भन्दै कडा आपत्ति जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर समाजले यस्तो आपत्ति जनाएको हो ।

समाजका अध्यक्ष रामकेबल गुप्ताले आफूहरुले अहिले पनि राज्यलाई तिर्नुपर्ने कर तिरिरहेको सुनाए । उनले भने, ‘तर, चन्द्रागिरी नगरपालिकाले हामीसँग दोहोरो कर लियो । जबकी हामीले काठमाडौंबाट निस्किएका कबाडी सामानहरु लिएर जाँदा सम्बन्धित ठाउँमा कर तिरिसकेका हुन्छौं । यसरी हामीसँग दोहोरो कर लिनुभएन् ।’

गुप्ताले काठमाडौंमा १८ वटा नगरपालिका रहेको र आफूहरुले यही नगरपालिकाहरुभित्रमात्रै काम गरिरहेको र राज्यलाई आफूहरुले जहाँ कारोबार गरेको छ त्यहीं कर तिरेको सुनाए । उनले भने, ‘चन्द्रागिरी नगरपालिकामा हाम्रा साथीहरुले कुनै कारोबार गर्नुभएको छैन् । कारोबार नभएको ठाउँले हामीसँग किन कर लिन पाउँदैन । यसमा हाम्रो घोर आपत्ति छ । हामीसँग यसरी चर्को कर लिनु गलत हो । सरकारले हामीलाई अन्याय गरेको छ । त्यसैले तत्काल कर फिर्ता गर्नुपर्छ ।’

समाजका महासचिव रामआज्ञा रौनियारले सरकारले आफूहरुको मागलाई यथासशक्य चाँडो सम्बोधन गर्नुपर्ने बताए । उनले भने, ‘यदि हाम्रो माग पूरा भएन भने हामी कलंकीदेखि थानकोटसम्म कबाडी सामानहरु बाटोमै फालेर जाम गरिदिन्छौं ।’

समाजका सचिव ओमप्रकाश सिंहले दोहोरो कर लगाउनु गलत भएको भन्दै यसलाई तत्काल खारेज गर्नुपर्ने माग गरे । आफूहरुको माग पूरा नगरे कडा भन्दा कडा आन्दोलन गर्नेपनि सिंहले चेतावनी दिए । व्यवसायी जीबन बस्नेतले आफूहरुले संकलन गरेका सामानहरु नेपालको उद्योगमा बिक्री गर्दै आइरहेको सुनाए ।

उनले भने, ‘उद्योगलाई हामीले सामानहरु दिइरहेका छौं । त्यो पनि बाहिरबाट आयात गर्ने मुल्यभन्दा आधामा हामीले दिइरहेका छौं । हामीले मुलुकको व्यापार घाटा कम गर्नको लागि निरन्तर योगदान पुर्याउँदै आईरहेका छौं । तर, सरकारले हामीलाई दोहोरो कर लगाएर मारमा पार्ने काम गरेको छ । सरकारको यो दोहोरो करले हाम्रो व्यवसाय नै बन्द हुने अवस्था सिर्जना भएको छ । हामीलाई यो कुरा कुनै हालतमा मान्य छैन् ।’

समाजले आफूहरुले तीन रुपियाँमा खाली बोटल किनेर गाडी भाडासहित जोडेर चार रुपियाँ २५ पैसामा बेच्ने गरेको सामानमा पनि चन्द्रागिरी नगरपालिकाले एक रुपियाँ कर लगाएकोमा कडा आपत्ति जनाएको छ । यसले गर्दा आफूहरुको व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको समाजले जनाएको छ । यदि यो व्यवसाय बन्द भयो भने लाखौं मान्छेहरु बेरोजगार बन्ने पनि समाजले चेतावनी दिएको छ ।

Advertisement

Advertisement

Advertisement