धरहरा पुनर्निर्माणको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने— धरहराबाट काठमाडौं नियाल्ने धोको छ

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धिरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । सुन्धारामा बिहीबार आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।

भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा परि भत्किएको थियो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले धरहराको टुप्पोबाट काठमाडौंलाई हेर्ने आफ्नो धोको भएको बताएका छन् । ओलीले अघिल्लो कार्यकालमा मेरो धरहरा मै बनाउँछु अभियान सुरु गरेका थिए । तर, पुनर्निर्माण सुरु हुन सकेको थिएन । त्यसको झण्डै चार वर्षपछि प्रधानमन्त्री ओलीले नै पुनर्निर्माणको शिलान्यास गरेका छन् ।

नयाँ बन्ने धरहरा हेर्दा नौतले देखिने भएपनि प्राविधिक हिसाबमा २१ तलाको हुनेछ।अन्डरग्राउन्डबाट धरहराको टुप्पोसम्म पुग्न लिफ्टमा चढ्नुपर्नेछ भने ओर्लन अर्को लिफ्ट हुनेछ।सरकारले पुरानै शैलीमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको हो।धरहरा २०७२ वैशाख १२ गतेको भूकम्पबाट भत्केको थियो।

शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत उपस्थित थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा जीआईईटीसी(रमन जेभी)लाई दिएको छ । भूकम्पले भत्किएको धरहरालाई सिसाभित्र राखेर संरक्षण गर्ने र त्यसकै छेउँमा पुरानै शैलीमा अत्याधुनिक सुविधासहित नयाँ धरहरा निर्माण हुने प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।

Advertisement

Advertisement