प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेरको नाम सिफारिस

Advertisement

काठमाडौं । संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ । बिहीबार बिहान बसेको बैठकले वरिष्ठतम् न्यायाधीश मध्येबाट जबराको नाम भावी प्रधानन्यायाधीशमा सर्वसम्मतीबाट सिफारिस गरेको हो ।

२०१४ मंसिर २८ गते जन्मिएका जबरा २०७१ जेठ १३ देखि सर्वोच्च अदालतमा न्यायाधीश छन्।

संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधिसभाका उपसभामुख डा.शिवमाया तुम्बाहाङफे सहभागी थिए।

नेपालको संविधानको धारा २८४ मा संविधान बमोजिम प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था छ।

संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेपछि अब संसदीय सुनुवाई विशेष समितिमा सनुवाई हुन्छ । त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आउँदो पुस १७ गते अवकाश पाउँदैछन्। यसअघि संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका दीपकराज जोशी पनि यसपटक प्रधानन्यायाधीश बन्ने लाइनमा थिए ।

Advertisement

Advertisement

Advertisement