चिनियाँ लगानीकर्तालाई नेपालमा औद्योगिक ग्राम निर्माण गर्न चासो

Advertisement

चितवन । स्थानीय सरकार र चिनियाँ लगानीकर्ताबीच आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका र ‘द ईकोनमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्शियल स्टक इन्टरप्राईजेज’को संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

सो अवसरमा चिनियाँ लगानीकर्तासँग समन्वय गरिरहेका पूर्वगृह एवं ऊर्जामन्त्री जनार्दन शर्माले चिनियाँ लगानीकर्ताले नेपालमा औद्योगिक ग्राम निर्माण गर्न चाहेको बताए । काठमाडौंमा शनिबार भएको कार्यक्रमपछि व्यवसायीले चितवनमा औद्योगिक ग्राम निर्माण गर्न चाहेसँगै यहाँको भ्रमण गरेको शर्माले जानकारी दिए । यहाँ मुख्य ग्राम रहने र सहायक ग्रामहरु विभिन्न जिल्लामा हुने उनले बताए ।

सरकारले जग्गा भाडामा उपलब्ध गराई उनीहरुको अनूकुल कानुनी व्यवस्था गर्न र प्रशासनिक काम छिटोछरितो गरिदिन चिनियाँ समूहले माग गरेको शर्माले जानकारी दिए ।

सो अवसरमा इन्टरप्राइजेजका टोली नेता फ्यान जिआवोले नेपालमा उत्पादन र व्यापारको क्षेत्रमा काम गर्न आफूहरु इच्छुक रहेको भन्दै आवश्यक वातावरण बनाइ दिन आग्रह गरे । पहिलो चरणमा चितवनमा काम गर्नका लागि आफ्नो टोली यहाँ आएको उनको भनाइ थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनमा लगानीका लागि आह्वान गर्दै आवश्यक वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरिन् । काठमाडौं पछिको वैकल्पिक शहरको रुपमा भरतपुरलाई विकास गर्न लागिएको भन्दै उनले शक्तिखोरको औद्योगिक क्षेत्र, रङ्गशाला, दासढुङ्गादेखि गोलाघाटसम्मको नारायणी नदी, नगरवन, अटो भिलेज, मेट्रो रेलजस्ता क्षेत्रमा चिनियाँ व्यवसायीलाई लगानी गर्न आह्वान गरिन् ।

छलफलपछि ४२ जनाको चिनियाँ व्यवसायीको टोलीले शक्तिखोरको औद्योगिक क्षेत्रको अवलोकन गरेको महानगर उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिइन् ।

Advertisement

Advertisement

Advertisement