कक्षा १२ को परीक्षा आजबाट, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

Advertisement

भक्तपुर । कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको  सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए  । 

उनले सबै विद्यार्थीहरूलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे । उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थीहरू सहभागी हुने भएका छन् ।

Advertisement

त्यस्तै, ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।

परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए । सबैभन्दा बढी काठमाडौंमा एक सय ४४ र मनाङ र मुस्ताङमा एक-एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । पहिलोपटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौंका परीक्षा केन्द्र निर्धारण गरेको हो । 

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् । 

परीक्षामा लागि आवश्यक पर्ने उत्तरपुस्तिकालगायतका सामग्री परीक्षाकेन्द्रहरूमा पुर्याउने कार्य सम्पन्न गरिसकेको छ भने यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरेको छ । 

Advertisement