अर्थमन्त्रीको बर्हिगमनको हल्लाले सेयर बजारमा यो साता उच्च वृद्धि, आज पनि उत्साहजनक सुधार

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाको बर्हिगमनको हल्लाले यो साता सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । सेयर बजारप्रति आलोचनात्मक दृष्टिकोणका राख्ने खतिवडा अर्थमन्त्री भएपछि सुरुदेखि नै बजारमा नकारात्मक प्रभाव देखिरहेको बेला उनको बर्हिगमनको हल्लाले सकारात्मक प्रभाव देखिएको हो ।

खतिवडाको दुई बर्षे साँसद पद आउँदो फागुनबाट समाप्त भएसँगै म्याद थप नहुने र नयाँ अर्थमन्त्री आउने कतिपयको अडकल देखिन्छ । विशेषगरी सेयर लगानीकर्ताहरु बजार सुधार हुननसक्नुमा एउटा कारण अर्थमन्त्री खतिवडा पनि भएकाले विकल्पको पक्षमा देखिन्छन् । यद्यपि उनले आयातलाई निरुत्साहित गर्न, स्वदेशी उद्योगको प्रवद्र्धन र आर्थिक कारोबारलाई पारदर्शी बनाउने कुरामा भने केही प्रयासहरु अघि बढाएका छन् ।

आज पनि सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । नेप्से ११ दशमलव १७ अंकले बढेर एक हजार १७२ दशमलव ६४ कायम भएको छ भने कारोबार रकममा पनि सुधार आई ७६ करोड रुपियाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार स्वाबलम्बन लघुवित्तको संस्थापन सेयर भयो । यसको सेयर आठ करोड २८ लाख रुपियाँको खरिद बिक्री भयो । दोस्रोमा डिप्रोक्स लघुवित्तको चार करोड रुपियाँभन्दा बढिको सेयर खरिद बिक्री भयो ।

समूहतर्फ आज सबैभन्दा उच्च वृद्धि निर्जीवन बीमा समूहमा भयो । यो समूहको सुचक सात दशमलव ५९ प्रतिशतले बढ्यो भने जीवन बीमा समूहको पाँच प्रतिशतभन्दा बढिले बढ्यो । अधिकांश समूहमा सुधार आउँदा व्यापार, उत्पादनमूलक र अन्य समूहका सुचकहरु भने ओरालो लागे । जलविद्युत समूहको सुचक पनि तीन प्रतिशतभन्दा बढिले बढ्यो । बाणिज्य बैंक समूहको वृद्धि भने एक प्रतिशतभन्दा न्युन रह्यो ।

आज अनुपातको हिसावले सबैभन्दा धेरै नाफा गर्नेमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ता अगाडि छन् भने घाटा धेरै खानेमा गराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement