सीमा क्षेत्रमा भारतीय अबैध डीटीएचका कारण राज्यलाई करोडौंको नोक्सान, सरकार बेखबर

Advertisement

काठमाडमौं । दक्षिणी सीमा क्षेत्रमा भारतीय डीटीएच (डाइरेक्ट टू होम) सेवा बिक्री भइरहेको छ । अबैधरुपमा भइरहेको यस्तो बिक्री रोक्ने नेपाली केवल टिभी डीटीएच सेवा प्रदायकहरुले सरकारलाई पटक पटक आग्रह गर्दै आएका पनि छन् । तर सरकारले यसमा कुनै चासो देखाएको देखिन्न ।

केही ठूलो व्यापारीको घरमा बाहेक पहाडी क्षेत्रमा विदेशी डीटीएचको प्रयोग नियन्त्रणमा आइसकेको छ । तर तराई झण्डै पाँच लाखको संख्यामा भारतीय डीटीएचहरु निर्वाधरुपमा सञ्चालन हुँदा मुलुकको ठूलो पुँजी बाहिरिनुका साथै सरकारी राजश्व चुहावट भएको छ । सँगसँगै नेपाली भाषा संस्कृतिमाथि पनि तिरन्तर प्रहार भइरहेको छ ।

भारतीय सीमा क्षेत्रमा हेर्ने हो भने छ्याप्छ्याप्ती भारतीय डीटीएचको छाता (एन्टेना)हरु राखेको देखिन्छ । एक पटक सेटअप बक्स खरिद गरेपछि निःशुल्क च्यानलहरु हेर्न पाइने खालका भारतीय फ्रि डीटीएचको संख्या तीन लाखको संख्यामा रहेको छ भने मासिकरुपमा शुल्क लिएर सःशुल्क च्यानलहरु बिक्री गर्ने टाटास्काई, भिडियोकन जस्ता भारतीय पे डीटीएचको संख्या दुई लाखको हाराहारीमा रहेको छ ।

यस्ता डीटीएचका उपकरणहरु सीमाबाट खुलेयाम भित्रिने गरे पनि भन्सार प्रशासन र प्रहरीले कुनै नियन्त्रण गर्ने गरेको देखिन्न । यस्ता डीटीएचबाट प्रसारण हुने सामग्रीहरुले एकातिर नेपाली भाषा संस्कृतिमाथि आक्रमण मात्रै नगरेर राष्ट्रिय सुरक्षा र एकतामा समेत असर गर्ने गरेको छ स्वदेशी केवल टिभी तथा डीटीएच सेवा प्रदायक उद्योगलाई समेत असर गर्दै आएको छ ।

सरकार मुकदर्शक
तराईका पसल पसलमा भारतीय डीटीएच टाटास्काईदेखि भिडियोकनका एन्टेनाहरु खुलेयामरुपमा अवैध बिक्री भइरहँदा पनि प्रहरी प्रशासनले जफत गर्दैन् । सीमाबाट आयात हुँदा पनि सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरु मौन बस्ने गरेको देखिन्छ ।

गृह प्रशासनले यसलाई नियन्त्रण गर्ने दायित्व आफ्नो नभएको तर्क गर्दै आएको छ भने सरोकारवाला सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले आफै जानकार देखिन्न । सञ्चार मन्त्रालयकी सहायक प्रवक्ता संगीता ओझाले भारतीय डीटीएचको अनुगमन गर्ने जिम्मा मन्त्रालयले सुचना विभागलाई दिएको बताउँदै यसको नियन्त्रणका लागि विभागले पत्राचार गरे मन्त्रालय त्यसपछि सम्वन्धित् निकायलाई भन्ने बताइन् । तराईमा भारतीय डीटीएचले पारेको प्रभावबारे उनी आफै पनि अनविज्ञ देखिइन् । तराईमा सहुलियत दिएर भारतीय डीटीएच कम गर्न सकिने भएकाले आफूहरुले नेपाल टेलिभिजनलाई पनि उक्त सेवाका लागि लाइसेन्स दिन लागेको ओझाले बताइन् ।

राज्यलाई कति नोक्सान ?
भारतीय सीमा क्षेत्रमा विदेशी डीटीएचको प्रभावले मुलुकको अर्थव्यवस्था, अन्तर्राष्ट्रिय व्यापार र राष्ट्रिय पुँजीमा समेत नकारात्मक असर परिरहेको छ । सेटअफ बक्स, एन्टेनाको लागतदेखि मासिक शुल्क अबैधरुपमा भारत गइरहेको छ । नेपाल सरकारले रोयल्टी र मूल्य अभिवृद्धि कर (भ्याट)वापत ठूलो रकमसमेत गुमाएको छ । त्यसबाट नेपाल सरकारलाई एक रुपियाँ पनि राजश्व प्राप्त भएको छैन् भने बर्षेनी दुई अर्ब रुपियाँ भन्दा बढि रकम भारत गइरहेको छ ।

सीमा क्षेत्रमा भारतीय डीटीएचको अतिक्रमण कतिसम्म छ ? र त्यसबाट राज्यलाई कति आर्थिक नोक्सानी भइरहेको छ ? भन्ने कुराको सरकार आफैले अहिलेसम्म अध्ययन गरेको छैन् । निजी क्षेत्रबाट भइरहेको सर्वेक्षण अनुसार भारतीय डीटीएचका कारण बार्षिक दुई अर्ब रुपियाँभन्दा नोक्सान भइरहेको छ ।

फ्रि डीटीएच हेर्ने र पे डीटीएच हेर्दै दुवै गरी मासिक शुल्क, सेटअप बक्स, एन्टेना आयातमा बार्षिक डेढ अर्ब बाहिरिने गरेको अनुमान छ भने सामान तथा सेवा बिक्रीवापत प्राप्त हुने भ्याटवापत सरकारलाई २५ देखि ३० करोड रुपियाँ नोक्सान भइरहेको अनुमान छ । नेपाली उपभोक्ताले भारतीय अवैध सेटअप बक्सलाई दुई हजार पाँच सयदेखि तीन हजार रुपियाँसम्म तिर्ने गरेका छन् भने पे डीटीएचका उपभोक्ताले मासिक सात सय रुपियाँसम्म तिर्ने गरेको पाइएको छ ।

नेपाली डीटीएचको तुलनामा भारतीय डीटीएचको मासिक शुल्क झण्डै दोब्बर महंगो रहेको छ । धेरै उपभोक्तालाई नेपाली केवल तथा डीटीएच सेवा र यसको मूल्यबारे जानकारीसमेत नरहेको पाइएको छ । सीमा क्षेत्रमा बस्नेहरुको संस्कृति मिल्दोजुल्दो भएको कुराको फाइदा उठाउँदै भारतीय व्यापारीहरुले अवैधरुपमा नेपाली भूमिमा खुलेआम भारतीय डीटीएच ल्याएर बिक्री गर्दा पनि नेपालको प्रहरी प्रशासन निरीह भएर हेर्दै आएको छ ।
सरकारले नेपाली केवल टिभी तथा डीटीएच सेवा प्रदायकहरुलाई नेपाल टेलिभिजनका तीन वटा च्यानलहरु अनिवार्य राख्नुपर्ने व्यस्था गरे पनि भारतीय डीटीएचहरुले नेपालको कुनै कानुन पालना गर्ने गर्दैनन् । भारतीय च्यानलहरुको प्रभावकै कारण नेपालीहरु देशका सुचना तथा जानकारीहरुबाट समेत बन्चित हुनु परेको छ ।

गर्ने के त ?
डिसहोमका बिक्री प्रमुख रमेश सापकोटाले तराईमा भारतीय अवैध डीटीएचको प्रभाव कम गर्न घाटै खाएर पनि सेटअप बक्स बिक्री गर्ने र भारतीय सेटअप बक्स साटिदिने अफर दिँदै आएको बताउँछन् । सोही कारण डिसहोमले तराईमा करिव १५ प्रतिशत बजार लिन सके पनि अझै ठूलो प्रभाव भारतीय डीटीएचको रहेको बताए ।

सापकोटा भन्छन्, ‘हामीले घाटै आएर भएर पनि तराईमा सेटअप बक्स दिँदै आएका छौं भने मासिक शुल्क भारतीय डीटीएचभन्दा डिसहोमको सस्तो छ ।’ अझै पाँच लाख उपभोक्ता भारतीय डीटीएच हेर्ने रहेकोले उनीहरुलाई सर्वसुलभरुपमा नेपाली डीटीएच हेर्ने बाताबरण बनाउन डिसहोमको एक्लो प्रयासले नपूग्ने भएकाले सरकारले पनि तदारुपता देखाउनुपर्ने उनको भनाई छ ।

डिसहोमको बजार हेर्दा हिमाली क्षेत्रका अधिकांश स्थानमा डिसहोमको प्रयोग देखिन्छ भने शहरी क्षेत्रमा केवल टिभी र डिसहोमबीच मुख्य प्रतिस्पर्धा रहेको छ । तराईमा भने भारतीय पे र फ्रि डीटीएचको प्रभाव अझै रहेको छ ।

सापकोटाले भारतीय डीटीएचको प्रभावबाट आफूहरुले सर्भे पनि गराइरहेको बताए । स्वतन्त्र हिसावमा सर्भे गरिरहेका मानिसहरुसँग डिसहोमका प्रतिनिधिहरु पनि गएका आधार दिएको प्रारम्भिक विवरणका आधारमा तराईमा बजार हिस्साको आधारमा डिसहोम अगाडि देखिए पनि दोस्रोमा ठूलो प्रभाव भारतीय अबैध डीटीएचको र तेस्रोमा केवल टिभीहरुको रहेको बताए ।

राज्यलाई भइरहेको नोक्सानी र स्वदेशी उद्योगहरुको हित र लगानी संरक्षणका लागि पनि सरकारले सीमा सुरक्षामा कडाई गर्ने र भन्सार नाकाहरुमा अबैध सामान भित्रिन दिन नहुने सापकोटा बताउँछन् । उनका अनुसार प्रहरी प्रशासनलाई भारतीय डीटीएच भनेको अबैध हो, यसले मुलुकको समग्र अर्थतन्त्र, राजश्व, रोजगारी, संस्कृति र सुुरक्षामा असर गरिरहेको कुरा बुझाएर कडाई गर्न सकियो भने नियन्त्रण गर्न गाह्रो छैन् ।

Advertisement

Advertisement

Advertisement