कुखुरा पालन उद्योगमा विचौलिया हावी, किसान र उपभोक्तालाई ठग्न कार्टेलिङ

Advertisement

काठमाडौँ । कुखुराको मासुमा कार्टेलिङ गरिरहेका व्यवसायीले चल्ला र दानामा पनि चर्को मूल्य असुल्दै आएको पाइएको छ । उनीहरूले कार्टेलिङ गरेर सातामै चल्लाको मूल्य ३५ रुपियाँसम्म बढाएका छन् । कुखुरापालक किसानका अनुसार नेपाल ह्याचरी उद्योग संघले माघ १० गते चल्लाको मूल्य ४० रुपियाँ निर्धारण गरेको थियो ।

त्यसपश्चात मूल्य क्रमशः बढाएर एक सातामा ७० रुपियाँ पुर्याइएको छ । किसानले भने ७५ रुपियाँ तिर्दै आएको चुन्नीखेलस्थित चम्पादेवी पोल्ट्री फार्मका सञ्चालक विश्व खड्काले बताए । ‘सातामा चल्लाको भाउ ३५ रुपियाँ बढ्नुपर्ने कुनै कारण नै थिएन तर संघसंस्था बनाएर वैधानिक ढंगबाट किसानलाई लुटेका छन्,’ उनले भने, ‘यसले किसान र उपभोक्ता सिधै मर्कामा परेका छन् ।’ ठूला व्यवसायी, दाना उद्योगी र ह्याचरी उद्योगीले प्रचलित कानुनविपरीत कालोबजारी तथा कार्टेलिङ गरिरहेको जनाउँदै राष्ट्रिय कुखुरापालक किसान संघर्ष समितिसमेत गठन गरिएको छ । समितिले आठबुँदे मागसहित नियमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी गरेको छ ।

‘चल्ला र मासुको मूल्य दाना उद्योग संघ, ह्याचरी उद्योग संघ र राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको नियन्त्रणमा छ । यी तीन संघको मिलोमतोमा मूल्य बढाइयो,’ संघर्ष समितिका संयोजकसमेत रहेका खड्काले भने । समितिका अनुसार ३० देखि ३५ रुपियाँमा चल्ला तयार हुन्छ । ह्याचिङ गरेर बाहिर निकाल्दा ३५ रुपियाँभन्दा बढी पर्दैन । ‘३० रुपियाँमा तयार भएको चल्लाको ह्याचरी उद्योगले ७० रुपियाँ तोकेको छ । बजारमा भने ७५ रुपियाँसम्म पर्छ,’ उनले भने, ‘यो संस्थागत कालोबजारी हो ।’

ह्याचरी उद्योग संघका महासचिव बलराम किसीले माग र आपूर्तिको कारण मूल्य बढेको दाबी गरे । ‘उत्पादन पर्याप्त नहुँदा चल्लाको माग बढ्यो, मूल्य पनि त्यहीअनुसार वृद्धि भएको हो,’ उनले भने, ‘मूल्य माग र आपूर्तिले नै निर्धारण गर्ने हो ।’ उनले चल्लाको लागत मूल्य ५५ रुपैयाँ पर्ने दाबी गरे । ह्याचरी उद्योगीहरूले चल्ला अभाव दाबी गरे पनि जानाजान ‘चिक्स होलिडे’ गरेका थिए । मूल्य बढाउनकै लागि मंसिर २७ मा सम्पन्न व्यवसायीको भेलाले पोल्ट्रीले सेटर मेसिनमा सेट गरिएका ह्याचिङ अण्डा मंसिर २९ देखि पुस ६ सम्म नष्ट गर्ने निर्णय गरेको थियो । मंसिर २९ देखि पुस ८ सम्म ह्याचरीबाट उत्पादित ब्रोइलर चल्ला, कलर ब्रोइलर चल्ला र क्रोइलर चल्ला बिक्री वितरण तथा ओसारपसार बन्द गर्ने निर्णय गरेका थिए । सोहीअनुसार उनीहरूले नेपालका विभिन्न पोल्ट्री फार्मबाट कुखुराका चल्ला नष्ट गरे  । ह्याचरी उद्योग संघका महासचिव किसीले भने चल्ला बिक्री नभएपछि नष्ट गरेको दाबी गरे । ‘मारेको होइन, डस्टबिनमा राखेको हो,’ उनले भने ।

ह्याचरी उद्योगले उपभोक्ता संरक्षण ऐनविपरीत बन्द र चल्ला नष्ट गरे पनि सरकार मौन बसेको थियो । त्यसको असर अहिले देखिएको हो । ‘वर्षौंदेखि यी संस्थामार्फत मूल्य निर्धारण हुँदै आएको छ । आफूअनुकूल चिक्स होलिडे गरेर किसानलाई लाखौं ऋणमा डुबाई विस्थापित गरिरहेका छन्,’ संघर्ष समितिले विभागमा दर्ता गरेको उजुरीमा उल्लेख छ । पशु सेवा विभागका महानिर्देशक वंशी शर्माले ह्याचरीको बचाउ गरे । उनले प्यारेन्ट आयात गरिएकाले महँगो परेको बताए । ‘उत्पादन लागत करिब ५० रुपियाँ पर्छ । १० रुपियाँ डिलर खर्च हुन्छ,’ उनले भने, ‘तर डिलरले बद्‌मासी गर्‍यो । ह्याचरीले दिएको मूल्यमा १०।१५ रुपियाँ बढाएर बिक्री गरे ।’ मूल्यको सन्दर्भमा आपूर्तिसँगको सहकार्यमा अनुगमन भइरहेको दाबी गरे । व्यवसायीले २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाइने उनले बताए ।

‘तयारी मासुको हकमा किलोको साढे ३ सय रुपियाँभन्दा बढी पर्दैन,’ उनले भने, ‘अहिलेको बजार मूल्य जायज होइन । प्रतिकिलो ३५० रुपियाँभन्दा बढी मूल्य हुँदैन ।’ बजार मूल्य अस्वाभाविक रहेको बताए पनि बढी मूल्य लिने व्यवसायीलाई कारबाही हुन सकेको छैन ।

पशुपन्छीसम्बन्धी नियमन गर्ने निकाय पशु सेवा विभाग नै हो । मूल्यको सन्दर्भमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमन गर्दै आएको छ । उक्त विभागले पनि व्यवसायीले लिँदै आएको मूल्य उचित नभएको जनाएको छ । ‘व्यवसायीले मूल्य बढेको ट्रेन्ड बताएका छैनन् । जानीजानी मूल्य बढाएका छन् । अभाव देखाएर मूल्य बढाए,’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले भने, ‘चित्त बुझ्दो छैन । उत्पादन क्षेत्रमा अनुगमन गर्छौं ।’ व्यवसायीले ऐनविपरीत काम गरेर सरकारलाई चुनौती दिए पनि कारबाही हुन सकेको छैन । यीबाहेक नेपाल दाना उद्योग संघले पनि ठगी गर्दै आएको समितिले जनाएको छ ।

किसान संघर्ष समितिका अनुसार दाना तथा चल्लामा २ सय प्रतिशतसम्म मुनाफा राखी बिक्री भइरहेको छ । उनीहरूले व्यापारिक नियमअनुसार २० प्रतिशत नाफा राखी बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेका छन् । ‘दानाको कच्चा पदार्थमा ५० रुपियाँ मूल्य वृद्धि हुँदा दानामा प्रतिकिलो २ वा बोरामा सय रुपियाँसम्म बढाइएको छ । अहिले दानाको कच्चा पदार्थको मूल्य प्रतिकिलो २ रुपियाँ घटेको छ तर दानाको मूल्य यथावत् छ,’ उजुरीमा उल्लेख छ ।

किसानलाई कम, उपभोक्तालाई चर्को मूल्य
कुखुरापालक किसान संघर्ष समितिका अनुसार कुखुराको मूल्य वृद्धिमा यी तीन संघ नै जिम्मेवार छन् । दाना र ह्याचरीको निर्देशनमा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मूल्य तोक्दै आएको छ । संयोजकखड्काका अनुसार माघ २२ गते जिउँदो कुखुराको मूल्य २६० रुपियाँ निर्धारण गरिएको थियो । किसानले भने २५० रुपियाँ मात्रै पाएका थिए । ‘संघले मूल्य निर्धारण गरे पनि तोकेको मूल्यको १० रुपियाँ घटाएर किसानलाई पैसा दिन्छन् । बिल बनाउँदा थप १ प्रतिशत कम मूल्य दिन्छन्,’ उनले भने ।

जिउँदो कुखुराको मूल्य २६० रुपैयाँ हुँदा तयारी मासु खुद्रामा ३५० देखि ३७० रुपियाँ मात्रै पर्ने समितिको दाबी छ । ‘तर होलसेलमा १० रुपैयाँ र खुद्रामा ३०।४० रुपैयाँ बढी मुनाफा राख्दा उपभोक्तालाई मार पर्‍यो,’ खड्काले भने । उनका अनुसार तिहारको समयमा कुखुराको लागत मूल्य २२० रुपियाँ थियो । दाना उद्योग संघको निर्देशनमा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सस्तो मूल्य तोकेको उनीहरूको दाबी छ । त्यसबेला कोल्डस्टोरले सस्तोमा किलोको १६० रुपियाँमा कुखुरा खरिद गरेकामा अहिले कोल्डस्टोरमै ३९० रुपियाँमा बिक्री गरेको समितिको आरोप छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement