घरेलु तथा साना उद्योगलाई प्रोत्साहन नगर्दा हामी पछि परियोः मन्त्री अर्याल

Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कृषि उत्पादन बृद्धि गर्न र व्यवसायिकीकरण गर्नका लागि सहकारी महत्वपूर्ण संयन्त्र भएको बताएकी छन् । राष्ट्रिय सहकारी महासंघको आयोजना गरेको सहकारीमार्फत उद्यमशीलता विकास राष्ट्रिय कार्यशाला गोष्ठीमा अर्यालले जमिनको व्यवस्थित सुधार नगरी कृषिले फड्को मार्न नसक्ने बताएकी हुन् ।

उनले भनिन्, ‘ठूलो स्केलमा उत्पादन गर्नका लागि सदस्यहरुको जमिन एकीकरण गरेर सहकारीले काम गर्न सक्छ । समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि धेरैभन्दा धेरै मानिसलाई उत्पादनमा जोड्नुपर्ने भएकाले सहकारीले यो कार्य गर्नुपर्छ ।’

सहकारी अब प्रवद्र्धनको चरणबाट व्यसायिक चरणमा प्रवेश गरिसकेको अर्यालको तर्क छ । उनले घरेलु तथा साना उद्योगको विकास र विस्तारमा सहकारी लाग्नुपर्ने बताइन् । अर्यालले भनिन्, ‘हिजो हामी घरेलु उद्योगलाई हेला गर्यौं । अब त्यसलाई नै उजागर गरेर धेरै मानिसलाई उद्यमी बनाउने रोजगारी सिर्जना गर्ने कार्यलाई बढवा दिनुपर्छ ।’

मन्त्री अर्यालले सहकारी ऐन २०७४ संशोधनका लागि तयारी भएको भए पनि बचत तथा ऋणको कारोबार गर्ने संस्थाका लागि छुट्टै कानुन आवश्यकता महशुस गरिएकाले केही समय रोकिएको बताइन् । उनले छिट्टै ऐन संशोधनको विषय संसद्मा लगिने समेत बताइन् ।

महासंघका निवर्तमान अध्यक्ष केशव बडालले सहकारी ऐन २०७४ सँगै सहकारीलाई उद्योग व्यवसायमा जानका लागि बाधा गरेका अन्य ४७ वटा ऐन संशोधन गर्नुपर्ने बताए । सहकारी बचत तथा ऋणमा केन्द्रित हुनुमा शिक्षा, स्वास्थ्य, बिमा, हाइड्रोलगायतका क्षेत्रमा जानका लागि सहकारीलाई बाधा सिर्जना भएको भएको गोष्ठीमा सहभागीहरुको भनाई छ । राज्यले सहकारीलाई अप्ठ्यारो परेका कानुनी अड्चन फुकाइदिएर उद्यमशिलता विकासमा प्रोत्साहन गरेको खण्डमा सहकारीले आयात प्रतिस्थापन गर्ने र रोजगारी सिर्जना गर्ने उनीहरुको भनाई थियो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले अहिलेको पुस्ता उद्यमी नबनी भावी पुस्ता उद्यमी बन्न नसक्ने बताए । सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डेले नेतृत्वमा बसेकाले फराकिलो सोच राखेर अगाडि बढ्न सकेको खण्डमा सहकारी क्षेत्रले नमुना कार्य गर्न सक्ने बताए ।

महासंघका अध्यक्ष मिनराज कँडेल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले गोष्ठी आयोजनाबारे बोलेका थिए । सोही अवसरमा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष बडालद्वारा लिखित सहकारी स्वायत्तता र स्वतन्त्रता नाम पुस्तक पनि सार्वजनिक गरियो ।

Advertisement

Advertisement