किन उछालियो सेयर बजार ? यस्तो रहेछ रहस्य

Advertisement

काठमाडौं । ‘किन बजार बढ्यो भनी नसोध्नु है, किन की सबैै कुरा राम्रो हुँदा हुँदै हिजोका दिनमा बजार घटिरहनुपर्ने कारण नै थिएन, समय बलवान छ ।’, यो भनाई हो हाथ वे इन्भेष्टमेन्ट प्रालीका सञ्चालक अम्बिका प्रसाद पौडेलको । नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष समेत रहेका पौडेललाई सेयर बजारका स्थापित खेलाडी मानिन्छ ।

त्यसो त स्टक ब्रोकर्स एसोसियसनका अध्यक्ष भरत रानाभाटले पनि सेयर बजारले लय समात्ने संकेत गरेको बताए । ‘बैंकहरुका कारण परिसूचक ह्वात्तै बढेको हो । बैंकका सेयर सस्तो छन्, लगानीकर्ता एकै पटक झुम्मिए । अब बजारले लय समातेको संकेत पाएका छौं ।’, अध्यक्ष रानाभाटले भने ।

उनले अनलाइन कारोबार प्रणाली प्रति लगानीकर्तामा बढेको विश्वास, देशको आर्थिक परिसूचक र न्युन बिन्दुमा पुगिसकेको नेप्से इन्डेक्सका कारण पनि बजार बढेको बताए । ‘१८८१.४५ बिन्दुमा पुगेको बजार घटेर न्युन बिन्दुमा पुगिसकेको थियो, लगानीकर्तामा एकाएक उत्साह थपियो, आर्थिक परिसूचकले पनि काम गर्यो, त्यसैले सेयर बजारमा लय पसेको छ’, रानाभाटले भने । ब्रोकर कम्पनीहरुमा लगानीकर्ताहरु खचाखच भरिन थालेको पनि उनको भनाई छ ।

सेयर लगानीकर्ता संघ, नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले पनि बजारले लय समातेको बताए । उनका अनुसार यतिबेला बजारमा नयाँ लगानीकर्ताहरुको व्यापक प्रवेश भैरहेको छ भने पुराना लगानीकर्ता पनि हौसिएका छन् । ‘पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ता हैसिँदै लगानी गरिरहेका छन्, नयाँ लगानीकर्ताहरुको प्रवेश पनि चाख लाग्दो देखिन्छ’, संघका उपाध्यक्ष फुल्लेलले भने ।

अर्थतन्त्र सुधार उन्मुख रहेका तथ्यले लगानीकर्ताको आत्मबल बढाएको उनको निष्कर्ष रहेछ ।
बैंकिङ क्षेत्र तातेपछि आइतबार बजारमा उछाल आएको हो । यस अघिसम्म बीमा र लघु वित्त कम्पनीले बजार वृद्धि गरिरहेका थिए । न्युन मूल्यमा कारोबार भैरहेका बैंकहरुको सेयरमा लगानीकर्ता झुम्मिएपछि नेप्से परिसूचकमा ७० अंकको उछाल देखिएको हो ।

ढुंगानाको मुस्कान
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले देखाएको सक्रियता र सकारात्मक पहल कदमीले पनि बजार बढाउन भूमिका खेलेको बताइन्छ । मुसुक्क हास्दै सबैका कुरा सुन्ने र सुधारको प्रतिवद्धता व्यक्त गर्ने ढुंगानाको रणनीतिले यतिबेला काम गरेको हो ।

‘उहाँले सबैका कुरा धैर्य पूर्वक सुन्नुहुन्छ, राम्रो कामका लागि सघाउने बताउनुहुन्छ, उहाँलाई भेट्न जानेहरु कोहि निरास भएर फर्कनु पर्दैन’, एक लगानीकर्ताले भने । उनले रियल टाइम सेटलमेन्ट गराउने प्रतिवद्धता व्यक्त गरेकाले पनि लगानीकर्तामा उत्साह थपिएको बताइन्छ ।
हिडन फ्याक्टर
शनिबार अपरान्ह सत्तासिन नेकपाको सचिवालय बैठकका कारण आइतबार सेयर बजार बढेको बताउनेहरुको पनि कमी छैन् । फागुन २० गते अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका उनी फेरी दोहोरिन्छन् भन्ने धेरैको अनुमान थियो । तर उनको ठाउँमा बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन शिर्ष नेतृत्व सहमत भएको छ । राष्ट्रिय सभामा नदोहोरिने भएपछि डा. खतिवडाको अर्थमन्त्री पदमा दोहोरिने छैन् । सेयर बजारका लगानीकर्ताहरुको आँखाको तारो बन्दै आएका खतिवडाको वहिर्गमन सुनिश्चित भएको निष्कर्षसहित सेयर बजारका लगानीकर्ता हौसिएको बताईन्छ ।

Advertisement

Advertisement

Advertisement