फुकुवापछि नौ दिनमा १४ करोडको पाम तेल निर्यात

Advertisement

विराटनगर । पाम तेल आयातमा भारत सरकारले लगाएको प्रतिबन्ध फुकुवा गरेपछि विराटनगर नाकाबाट तेल निर्यात हुन थालेको छ। विराटनगर नाकाबाट नौ दिनमा १४ करोड रूपैयाँको पाम तेल निर्यात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

विराटनगर भन्सार कार्यालयका प्रवक्ता गोपी उप्रेतीका अनुसार फागुन ९ देखि १८ गतेसम्मको तथ्यांक अनुसार विराटनगर नाकाबाट १४ करोड ६ लाख ५५ हजार रूपियाँको १२ सय ५२ मेट्रिक टन पाम तेल निर्यात भएको हो। हाल विराटनगर नाकाबाट निर्वाध रूपमा पाम तेल भारततर्फ निर्यात भइरहेको उप्रेतीले जानकारी दिए। उनले भने, ‘पाम तेल निर्यातमा कुनै अवरोध छैन।’ विराटनगरका उद्योगहरूले निर्यातका लागि भन्सार जाँचपास गरिसकेको अवस्थामा भारत सरकारले पाम तेल आयातमा कडाइ गरेपछि भन्सारकै गोदाममा थन्किएको थियो। भारतले नेपालबाट चाहिँ पाम तेल आयात गर्न दिने निर्णय गरेसँगै भन्सारको गोदाममा राखिएको तेल भारततर्फ गइसकेको प्रवक्ता उप्रेतीले बताए। उनले भने, ‘भन्सार क्लियरेन्स गरेर गोदाममा राखिएको पुरानो स्टक निर्यात भइसकेको छ।’

कोटामा किचलो
भारत सरकारले पाम तेल आयात खुला गरे पनि कोटा लागू गरेपछि नेपाली व्यापारीबीच विवाद सुरू भएको छ। कोटा खोसाखोसले विवाद पैदा गरेको हो। संघीय सरकारको पहलमा भारत सरकारले नेपालबाट पाम तेल निर्यात गर्ने व्यवस्था मिलाएको थियो। सरकारले स्वदेशी उद्योगको उत्पादन क्षमता अनुसार पाम तेलको कोटा उपलब्ध गराउन भारतलाई आग्रह गरेको थियो। भारतले वार्षिक चार लाख मेट्रिक टनको कोटा नेपाललाई दिएको पशुपति खाद्य तेल उद्योगका सञ्चालक पवनकुमार सारडाले बताए। नेपालले पाएको चार लाख टन बराबरकै कोटा उपलब्ध गराउन सरकारसँग माग राखेका थिए। सरकारको पहलमा भारत सरकारले त्यहाँका व्यापारीलाई नेपालबाट वार्षिक चार लाख टन पाम तेल आयात गर्न लाइसेन्सको व्यवस्था गरेको हो। नेपालमा विराटनगर र वीरगन्जका उद्योगीले पाम तेल प्रशोधन गरेर भारत निर्यात गर्दै आएका थिए।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement