अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ६८ प्रतिशत घट्ना नेपालमा नौ प्रतिशत मात्रै घटाइयो

Advertisement

काठमाडौं । कच्चा तेलको मूल्य वृद्धि हुँदा बढाउने नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य घट्दा भने तुलनात्मक रूपमा घटाएको छैन । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ६८ प्रतिशत घट्दा आयल निगमले डिजेल र मट्टीतेलको मूल्य नौ प्रतिशत मात्र घटाएको छ । नेपालमा आयात हुने पेट्रोलियममध्ये ६० प्रतिशत डिजेल हुन्छ, जो सार्वजनिक यातायात र उत्पादनमूलक उद्योगमा खपत हुन्छ ।

पछिल्लो पाँच वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ६८ प्रतिशत घटेको छ । असार ०७१ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल (१५९ लिटर) १०६ अमेरिकी डलर थियो । त्यतिबेला नेपालमा पेट्रोलको मूल्य एक सय ३४ रुपियाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०५.८५ थियो । तर, हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल प्रतिब्यारेल ३४ डलर कायम हुँदा नेपालमा पेट्रोलको मूल्य एक सय ६ रुपियाँ छ भने डिजेल तथा मट्टीतेलको मूल्य ९५ रुपियाँ छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ७२ डलर घट्दा आयल निगमले सार्वजनिक सवारीसाधनले प्रयोग गर्ने डिजेल र विपन्न जनताले प्रयोग गर्ने मट्टीतेलमा १० रुपियाँ मात्र घटाएको छ ।

पछिल्लो समयमा पनि जनवरीयता कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । जनवरीमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६५ डलर थियो । त्यसयता मात्रै आधा नै मूल्य घटेर ३४ डलर भएको छ । तेल उत्पादन गर्ने दुई ठूला देश साउदी अरेबिया र रसियाबीचको प्रतिस्पर्धाले अहिले मूल्यमा गिरावट आएको हो । तेल उत्पादन कटौती गर्नुपर्ने साउदीको प्रस्तावलाई रसियाले नकारेपछि दुवै देशले उत्पादन बढाउँदा मूल्य घटेको हो । अन्तर्राष्ट्रिय बजारमा घटेपछि भारतले समेत आन्तरिक बजारमा मूल्य घटाएको छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement