एम्बुलेन्स चालकको जीवन बीमा, ‘कोरोना संक्रमितलाई सेवा प्रवाह गर्दा जोखिम हुने’

Advertisement

दमौली । तनहुँको भानु नगरपालिकाले नगरक्षेत्रभित्रका एम्बुलेन्स चालकको जीवन बीमा गरिदिएको छ । कोभिड–१९ का शङ्कास्पद बिरामीलाई सेवा प्रवाह गर्ने क्रममा एम्बुलेन्स चालक जोखिममा हुने भएकाले नगरपालिकाले जीवन बीमाको व्यवस्था गरेको हो ।

नगरक्षेत्रभित्र सञ्चालित तीन एम्बुलेन्सका चालकका जीवन बीमाको व्यवस्था मिलाइएको नगरपालिकाका सूचना अधिकारी एवं वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए । “एम्बुलेन्स चालकलाई प्रोत्साहन गर्नका लागि उनीहरुको जीवन बीमा गर्ने व्यवस्था मिलाएका हौँ,” पाण्डेले भने, “यो निर्णयले विपद्को अवस्थामा एम्बुलेन्स चालक पनि इमानदारपूर्वक खटिने विश्वास गरेका छौँ ।”

नगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता प्रदान गर्ने र उनीहरुको पनि जीवन बीमाको व्यवस्था गरिदिने निर्णय गरेको छ । नगरक्षेत्रभित्रका सबै स्वास्थ्य संस्थामा नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि घरबाट बाहिर ननिस्कन दैनिक प्रचारप्रसार र माइकिङ गरिएको र विदेशबाट फर्किनेको तथ्याङ्क लिने काम भइरहेको पाण्डेले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्र हालसम्म २१ जना विदेशबाट फर्किएको फेला परेको छ । उनीहरुलाई घरमा नै सुरक्षित रुपमा बस्न सुझाव दिइएको छ ।

नगरपालिकाका ७५ स्वास्थ्यकर्मी, ७२ स्वयंसेविका, कर्मचारी र जनप्रतिनिधि सचेतनामूलक अभियानमा खटिएका छन् । कोभिड–१९ का शङ्कास्पद बिरामी देखिएमा तत्काल एम्बुलेन्सबाट बिरामीलाई बन्दीपुर अस्पतालको आइसोलेशन वार्डमा लैजाने व्यवस्था मिलाइएको छ । नगरपालिकाले नगरक्षेत्रभित्रका स्वास्थ्यकर्मी सम्मिलित दु्रत प्रतिकार्य टोली समेत गठन गरेको छ ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि प्रत्येक वडामा मास्क र स्यानिटाइजर पठाइएको छ भने नगरक्षेत्रभित्र कोभिड–१९ का सङ्क्रमित भेटिएमा सम्पूर्ण उपचार खर्च नगरपालिकाले बेहोर्नेछ ।

Advertisement

Advertisement

Advertisement