लकडाउनमा कति भित्रियो अत्यावश्यक वस्तु, कसरी चल्दैछ भन्सार प्रशासन ?

Advertisement

कामठाडौं । सरकारले चैत ११ गतेदेखि लडकडाउन गरेपछि ८ अर्ब ६१ करोड ८ लाख ९८ हजार रुपैयाँ बराबरको अत्यावश्यक समान आयात भएको छ । भन्सार विभागबाट प्राप्त तथ्यांक अनुसार १३ हजार २ सय ४१ टन खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

३ हजार ९ सय ४० किलोलिटर डिजेल आयात भएको छ भने ३ हजार ५ सय २४ किलोलिटर पेट्रोल आयात हुँदा २१ हजार ५ सय २० टन खाद्यान्न आयात भएको छ । १४ हजार ७ सय ४८ टन तरकारी आयात हुँदा ९ हजार २ सय ५९ टन गेडागुडी आयात भएको छ । २ हजार ९ सय २ टन फलफलु आयात हुँदा दग्धजन्य पदार्थ पनि ७ टन आयात भएको छ ।

३६ करोड ५७ लाख २९ हजार मूल्य बराबरको तयारी औषधी आयात भएको देखिन्छ भने औषधीको कच्चा पदार्थ ६ करोड २३ लाख ४३ हजार रुपैयाँ बराबरको आयात भएको छ । यो तथ्यांक लकडाउन आरम्भ अर्थात चैत ११ देखि चैत २२ गतेसम्मको हो ।

पाँच सय कर्मचारी नाकामा
भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार कर्मचारीहरुलाई कोरोना संक्रमणबाट बच्ने उपाय अवलम्बन गर्दै सबै भन्सार कार्यालयहरु खुला गरिएका छन् । यतिबेला देशभरका भन्सार कार्यालयहरुमा करिब ५ सय कर्मचारीहरु खटिएको पनि उनले बताए । ‘पाँच सय हाराहारी कर्मचारीले बिभिन्न सिफ्ट अनुसार भन्सार विन्दुमा बसेर सेवा दिईरहेका छन्, उनीहरुको सुरक्षाका लागि पञ्जा लगाउने स्प्रे छर्ने, आयातित माल वस्तुलाई २४ घण्टासम्म होल्ड(क्वारेन्टाइन)मा राख्ने लगायतका उपाय अपनाईएको छ’, विभागका महानिर्देशक दाहालले कर्पाेरेट नेपालसँग भने ।

भन्सारमा छैन अवरोध
दाहालका अनुसार नेपाल भारत भन्सार बिन्दुमा आयात निर्यातका लागि यतिबेला कुनै अवरोध छैन । ‘कागजात नपुगेको अवस्थामा बाहेक अहिले भन्सारमा कुनै अवरोध छैन, बरु ढुवानीका लागि चालक र समान लोड अनलोडका लागि मजदुरको अभाव छ ।’, दाहालले भने ।

अत्यावश्यक समान मात्रै
दाहालका अनुसार यतिबेला दैनिक अत्यावश्यक समानहरुको मात्रै आयात भैरहेको छ । मेसिनरी पार्टस, उद्योग धन्दाका कच्चा पदार्थहरुको आयात भैरहेको छैन् । ‘नियमित अत्यावश्यकका समानहरु आईरहेका छन् ।
औद्योगगिक कच्चा पदार्थ आईरहेका छैनन् ।’, उनले भने । उनले लकडाउनका कारण भन्सार राजश्व संकलनमा ठूलै असर गर्ने पनि बताए ।

चीन तर्फका नाका एक सातापछि मात्रै
महानिर्देशक दाहालले चीन तर्फका नाका एक हप्तापछि मात्रै सञ्चालनमा आउने बताए । ‘हामीले आफ्नो तयारी गरेका छौं, चीनतर्फ तयारी हुँदैछ । सम्भवतः एक हप्ताभित्र चीन तर्फका नाका खुल्छन् ।’, दाहालले भने ।

नियमित कार्यालय
सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको भएपनि दाहालले पनि नियमित कार्यालय गैरहेका छन् । ‘हामी नियमित कार्यालय आईरहेका छौं, अत्यावश्यक वस्तुहरुको आयातका लागि खटिनुपर्ने भएकाले लकडाउनको आफैंले अनुभवन चाँही गरेको छैन्’, दाहालले भने ।

Advertisement

Advertisement

Advertisement