कतारमा १७ नेपालीलाई आममाफी, प्रधानमन्त्री ओलीले दिए धन्यबाद

Advertisement

काठमाडौँ । कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । उक्त घोषणासँगै १७ नेपालीले आममाफी पाएका हुन् ।

आममाफीपछि कतारको बन्दी गृहमा रहेका उनीहरु रिहाइ हुनेछन् । लागू औषध कारोवारजन्य कसूरमा सजाय भोग्दै आएका १३, चोरी दुई तथा मादक पदार्थ कारोबार र ठगीको कसूरमा सजाय भुक्तान गरिरहेका एक÷एक नेपाली रिहा हुनेछन् ।

प्रधानमन्त्री ओलीद्वारा कतारका प्रमसँग फोन वार्ता
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरी कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका विषयमा कुरा गरेका छन् ।

प्रधानमन्त्री ओलीले फोन संवादमा कतारमा विभिन्न आरोपमा गिरफ्तारमा परेका १७ नेपालीलाई रिहाइ गरेकाप्रति खुशी व्यक्त गर्दै धन्वयाद दिए । प्रधानमन्त्री ओलीले ट्वीटरमा लेख्नुभएको छ, “कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरे, मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखे, कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गरे, मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाइप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।”

कोरोना भाइरसको सङ्क्रमण विश्वभरी नै फैलिँदै गएपछि यसअघि पनि प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग संवाद गरी आफ्ना नागरिकको सुरक्षा र कल्याणको विषयमा कुराकानी गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement