सरकारी कम्पनीमा मौज्दात सकिंदै, चामल खरीदका बोलपत्र आह्वान गरिँदा किन परेन आवेदन ?

Advertisement

काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मौज्दात सकिनै लाग्दा एक लाख क्विन्टल चामल खरीदका लागि तेस्रो पटक बोलपत्र आह्वान गर्दैछ । यसअघि दुई चोटि बोलपत्र आह्वान गरिँदा पनि पर्याप्त आवेदन परेन ।

पछिल्लो बोलपत्र आह्वान गरेको १९ दिन हुँदा पनि खरीद प्रक्रिया शुरु हुन सकेको छैन । कम्पनीले भण्डारण खाली भएको जनाउँदै पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरेको थियो । उक्त समयमा कुनै आवेदन नपरेपछि पुनः यही वैशाख १० गते १५ दिनको अवधि राखेर दोस्रो बोलपत्र आह्वान गर्यो । उक्त अवधिमा दुई जनाको आवेदन परे पनि अन्तिम दिन सम्पर्कमा नआउँदा चामल खरीद अन्योलमा परेको कम्पनीले जनाएको छ ।

दोस्रो पटकको बोलपत्रमा समेत चामल खरीदको प्रक्रिया शुरु हुन नसकेपछि कम्पनीले बजारको अवस्थालाई अध्ययन गरेर पुनः बोलपत्र आह्वानको तयारी गरेको छ । तेस्रो पटक बोलपत्र आह्वानको तयारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार लकडाउनका कारण बजारमा खाद्यान्न मूल्य वृद्धि भएको र पुरानो दरमा कुनै पनि संस्था तथा व्यक्तिले आवेदन दर्ता नगराएपछि बजारको अवस्था अध्ययन गरेर पुनः बोलपत्र आह्वान गरिने तयारी भएको हो ।

सम्भवतः एक दुई दिनमा नै मूल्यसम्बन्धी अध्ययन सकेर बोलपत्र आह्वान गरिने कम्पनीले जनाएको छ । कम्पनीले सात कार्यालय विराटनगर, लहान, काठमाडौंँ, नेपालगञ्ज, धनगढी तथा शाखा कार्यालय वीरगञ्ज र सुर्खेतका लागि बोलपत्र आह्वान गरेको हो । काठमाडौँसहित १४ जिल्लामा कम्पनीसँग चामल र धान (चामल बन्ने अनुमान) दुवै गरी हाल अठार हजार १३८ मेट्रिक टन चामल मौज्दात छ ।

Advertisement

Advertisement

Advertisement