सार्वजनिक सुचनाहरु अनलाइन पत्रिकाहरुमा पनि प्रकाशित गर्न सकिने बाटो सरकारले खोल्यो

Advertisement

काठमाडौं । सरकारले सार्वजनिक सुचनाहरु अनलाइन पत्रिकाहरुसमेत प्रकाशित गर्न मिल्ने बाटो खोलिदिएको छ । यसअघि दैनिक पत्रिकामा नै अनिवार्य प्रकाशित गर्नुपर्ने बाध्यतालाई हटाएर अनलाइन पत्रिकाहरुमा पनि प्रकाशित गर्न मिल्ने बाटो खोलिएको छ भने लोककल्याणकारी विज्ञापन यस्ता अनलाइन माध्यमहरुलाई पनि अब प्रदान गरिने जनाइएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संसदमा आउँदो आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै भने, सूचना प्रविधिमा आधारित सञ्‍चार माध्यमलाई प्रवर्द्धन गर्न सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने व्यवस्था मिलाइनेछ। कानुनी बाध्यताका कारण यसअघि सार्वजनिक निकायदेखि बैंक र बीमा कम्पनीहरुसम्मले आफ्ना सुचनाहरु अनलाइन पत्रिकामा प्रकाशित गर्न सकेका थिएनन् । पछिल्लो समयमा अनलाइनपत्रिको प्रभाव र लोकप्रियता निकै बढेर गएको छ । मानिसहरुको सुचनाको मुख्य स्रोत नै डिजिटल मिडिल मिडिया बन्दा छापा पत्रिकाहरुको अस्तित्व संकटमा परेको छ ।

बजेटमा सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाइने उल्लेख गरिएको छ। साइवर सुरक्षा जोखिमको पहिचान, असर न्यूनीकरण र आकस्मिक साइवर सुरक्षा छरितो र भरपर्दो बनाउन साइवर फोरोन्सिक ल्यावको स्तरोन्‍नति गरिने भन्दै अर्थमन्त्री खतिवडाले छुट्टै साइवर सुरक्षा केन्द्र स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिने बताएका छन् ।

पत्रकारिता क्षेत्रको व्यावसायिकता अभिवृद्धि गर्न क्षमता विकासका कार्यक्रम सञ्‍चालन गरिने, पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्ति कोषलाई सञ्‍चारकर्मीको हितका कार्यमा उपयोग गरिने, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन गरी डिजिटल प्रविधिको माध्यमबाट विश्व अर्थतन्‍त्रमा आबद्ध हुँदै त्यसबाट सिर्जना हुने आर्थिक अवसरको उपयोग गरिने, सूचना प्रविधि, दूरसञ्‍चार र विद्यमान ब्रोडव्याण्ड नीति परिमार्जन गर्दै फाइबर टु होम प्रविधिबाट स्तरीय र भरपर्दो ब्रोडव्याण्ड इन्टरनेट सेवा २ वर्षभित्र सबै स्थानमा पुर्‍याइने, आगामी वर्ष फोर जी सेवा देशव्यापी विस्तार गरिने, ज्ञानमा आधारित अर्थतन्त्र विकासको लागि सूचना प्रविधिमा आधारित उद्योग व्यवसायको प्रवर्द्धन ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञान पार्क स्थापनाको कार्य अगाडि बढाइने, सबै प्रदेशमा सञ्‍चार ग्राम स्थापना गर्ने कार्यलाई निरन्तरता दिइने जस्ता कुराहरु बजेटमा उल्लेख छ।

Advertisement

Advertisement

Advertisement