मुलुक कोरोनाको त्रासमा रहेको बेला पाण्डेलाई राजदूत बनाउन हतार

Advertisement

काठमाडौँ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९)का कारण नेपाल पनि त्रस्त रहेको बेला सरकार र ससंदीय समिति भने महेन्द्रबहादुर पाण्डेलाई राजदूत बनाउन हतारिएका छन् । चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेलाई सोमबार हतार हतार संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेको हो ।

परराष्ट्रमन्त्रीसमेत भइसकेका नेकपाका नेता पाण्डेलाई चीनको राजदूत बनाउन सरकारले हतार हतार लीलामणि पौडेललाई बिना कारण चीनबाट फिर्ता बोलाएको थियो । उनलाई फिर्ता बोलाएसँगै सरकारले पाण्डेलाई राजदूतको रुपमा प्रस्तुत गरेको थियो । पाण्डेलाई सत्तापक्ष र विपक्षले एक मतले नाम अनुमोदन गरेका छन् ।

सबैको ध्यान कोरोनाको संक्रमणबाट कसरी जोगिने ? भन्नेतर्फ गएको बेला पाण्डेको विरुद्धमा समितिमा कुनै पनि उजुरीसमेत परेको थिएन् । समितिको बैठकले पाण्डेले आफू राजदूत भएपछि चीनसँगको नेपालको आर्थिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई उचाइमा पुर्याउने दावीसमेत गरे ।

यही गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस गरिएको थियो। अमेरिकी सहयोग एमसीसीको अनुदान संसदबाट अनुमोदन गर्ने नगर्ने विषयमा चर्को विवाद भइरहेको बेला पाण्डेलाई राजदूत बनाएर चीन पठाउने तयारी गर्नु अर्थपूर्ण देखिन्छ ।

Advertisement

Advertisement

Advertisement