पाँच अर्बको स्टक डिलरलाई लाईसेन्स, भदौ अघि नै कारोबार, पूँजी बजारका लागि कोशेढुंगा

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई आसय पत्र प्रदान गरेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाका अनुसार आइतबार कम्पनीलाई प्रारम्भिक लाइसेन्स अर्थात एलओआई प्रदान गरिएको हो । 

त्यस्तो पत्रमा स्टक डिलरका लागि आवश्यक पूर्वाधार तयार पारेको जानकारीसहित निवेदन दिन भनिएको पनि उनले बताए । ‘स्टक डिलरका लागि आवश्यक पूर्वाधार तयार पारेको जानकारी गराउन पत्र लेखेका छौं, कम्पनीले पत्रको जवाफ दिएपछि पूर्वाधार हेर्छाै र लाइसेन्स दिन्छौं’, बोर्डका अध्यक्ष ढुंगानाले कर्पाेरेट नेपालसँग भने । 

कम्पनीका तर्फबाट निवदेन आएपछि पूर्वाधार उपयुक्त देखिएमा एक हप्ताभित्रै लाइसेन्स दिने पनि अध्यक्ष ढुंगानाले बताए । नागरिक स्टक डिलरका प्रबन्ध सञ्चालक इन्द्रकुमार कट्टेलले सोमबार।मंगलबार नै पूर्वाधार तयार रहेको जानकारीसहितको पत्र बोर्डलाई पठाउने बताए । बोर्डबाट लाइसेन्स पाएपछि नेपाल स्टक एक्सचेञ्जबाट स्वीकृति लिने र सीडीएसीमा केहि प्राबिधिक विषय मिलाउन समय लाग्ने पनि उनले बताए । ‘साउन भित्रै कारोबार थाल्ने योजना हो, ढिलै भएछ भने पनि भदौको पहिलो हप्तादेखि कारोबार थाल्छौं’, कम्पनीका प्रबन्ध सञ्चालक कट्टेलले भने । 

नेपालकै पहिलो स्टक डिलर कम्पनीका रुपमा सेवा आरम्भ गर्न लागेको नागरिक स्टक डिलरको चुक्ता पुँजी ५ अर्ब छ । कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । ३० प्रतिशत लगानी भने सर्वसाधारणका लागि छुट्याईएको छ । सर्वसाधारणले आइपीओ मार्फत ३० प्रतिशत सेयरमा लगानीको अवसर पाउनेछन् । कम्पनीले केहि वर्षभित्रै ५० अर्बको पोर्टफोलियो बनाउने लक्ष्य तय गरेको छ ।

नेपालकै पहिलो स्टक डिलर कम्पनीका रुपमा आउने यो कम्पनीले सेयर बजारको अनावश्यक उतार चढावलाई रोक्न भूमिका निर्वाह गर्नेछ । ‘स्टक डिलर सञ्चालन गर्नका लागि प्रारम्भिक निर्णय गरिएको छ, नेपालको सेयर बजारका लागि यो कोशेढुंगा हो ।’, बोर्डका अध्यक्ष ढुंगानाले भने । उनले बोर्डका नेतृत्वमा आएपछि आफुले गरेको अर्काे महत्वपूर्ण कामका रुपमा स्टक डिलरलाई लाईसेन्स दिने प्रक्रिया भएको पनि बताए । 


 

Advertisement

Advertisement

Advertisement