पूर्वसचिव भीम उपाध्यायको बुझाई-‘हिन्दूहरू प्रचार गर्दै हिड्दैनन्, ज्ञान बाँड्छन्’

काठमाडौँ । हिन्दू सनातन धर्म भनेको मूलतः आफूलाई यो जुनिमा आफैले सम्हालेर आनन्द लिने जीवन दर्शन हो । 

जीवन भौतिक र पराभौतिक (अभौतिक) हुन्छ ।पराभौतिक ज्ञान हासिल गर्न योग, ध्यान, एकान्तबास, सही आहार,  विहार, निरन्तरको साधना,  गुरूप्रतितको श्रद्धाभाव, मन्त्र पाठ, गुरूको सामिप्यता, गुरूको कृपा, धैर्यता, शान्त एवं स्थिर मन, कुनै बस्तु वा ब्यक्तिमा आधारित वा रिलेटेड परिचयबाट मुक्त अवस्था जरूरी हुन्छ। जीवन भनेको दिमागमा कोचिएको सूचना वा शरीरको मांसपेशीको रूपमा  ठोसिएको  भोजन हैन, उर्जा हो भन्ने बोध गराउछ । यो जगत र ब्राह्मण्डका सबै कुरा उर्जा हो। मानिस पनि त्यही एक उर्जा हो, तरंगमा अरू भन्दा केही फरक भएकोले फरक देखिएको मात्र हो ।

आत्म ज्ञानलाई प्रमूखता दिइएकोले समातनी हिन्दूहरू सत्संग गर्छन् तर संगठन गर्दै हिड्दैनन् जबसम्म बाहिरबाट खतरा महसूस गर्दैनन् । अरूलाई आकर्षित गर्न परिवर्तन गराउन भन्दै प्रचार गर्दै हिड्दैनन् किनभने हिन्दू धर्म प्रणाली पराविद्या हो । पराविद्या भनेको आफूलाई आफै खोज्ने हो । 

हिन्दूहरू प्रचार गर्दै हिड्दैनन्, ज्ञान बॉड्छन् । कसैमाथि आधिपत्य गर्न खोज्दैनन्, आत्मबोधमा जोड देउ सम्म भन्छन्। मुक्ति उसको जीवनको लक्ष भएकोले आत्मज्ञानलाई मात्र महत्व दिन्छन् । धन र विद्यालाई समाज शोषणको माध्यम बनाउदैनन् । शिक्षा र चिकित्साका लागि शुल्क लिनुहुदैन भन्ने मान्यताका कारण यसलाई धन कमाउने पेशा मान्दैनन् । यसै कारणले निःशुल्क शिक्षा र चिकित्सा दिने हुनाले समाजले वैद्य तथा गुरूलाई भगवानभन्दा माथि मान्ने गरेका हुन् । विद्या दिने सेवासमूह वा वर्ग वा वर्णलाई ब्राह्मण भनेको हो जसले ब्रह्मज्ञानतर्फ समाजलाई डोर्याउछ । गुरूहरू घरघर जादैनन्, जसलाई ज्ञानको खॉचो छ उ आश्रममा धाउछ । पाहुना बनेर आउदा साक्षत भगवानले टेकेको ठानिन्छ । पाहुनालाई भगवान ठानिन्छ किनभने भेष बदलेर गुरू वा कुनै भगवान वा मानिस परीक्षण गर्न पाहुना बनेर आएको पनि हुन सक्छ भन्ने सोचिन्छ। अतिथि देव भवः भनिने गरेको यही हो ।

गुरू वा ऋषिको आत्मज्ञान समाजको सोचभन्दा धेरै अगाडि हुने भएकोले उनीहरू समाजभन्दा टाढा एकान्तमा आश्रममा बसेका हुन्छन् । जसलाई ज्ञान वा आत्मज्ञानको चाहना हुन्छ उसले आश्रममा दर्शन गर्न धाउनुपर्छ, राजा पनि आश्रममा नै जानुपर्छ । भेटमा गुरूलाई राजाले पनि ढोग्नुपर्छ । 

हिन्दू सनातनभित्र विश्वभित्रका सबै पन्थ मात्र हैन, ब्रह्माण्डमा नै भएका सबै पन्थ निहीत हुन्छ । यो समुद्र हो, सबै खोला नदीहरू गएर अन्तमा मिल्ने ठाउँ । हिन्दू सनातनी कसैको बिरोधमा हुँदैन, किनभने सबै यसकै सन्तान हुन् भन्ने बोध हुन्छ। सन्तानहरू अंशका लागि झैझगडा वा लडन्त गरेका मात्र हुन् भन्ने बुझेको हुन्छ ।

ब्रह्माण्डसंग कसको के रिस ? ब्रह्माण्डले को संग किन लडन्त गर्नु पर्यो ? आत्मज्ञानका खोजमा लाग्नेहरू अरूलाई सुधार्छु भन्दै हिड्ने किन र ? किनभने उसले आफूभित्र नियाल्दै गर्दा बुझेको हुन्छ, कसैले कसैको आन्तरिक ज्ञानलाई बदल्न सक्दैन। कसैलाई बदल्न सक्दैन, सबै आफै बदलिने हो । तिनलाई तिनकै आन्तरिक क्षमता र सम्पत्ति देख्ने बनाईदिन टर्च बालिदिने सम्म हो । देखिएको गन्तब्यको मार्गमा लगनशील भएर हिड्ने त स्वयं आफै हो । चाहन्छ भने उसलाई हिड्ने कसरी भनेर साधना सम्म सिकाईदिने हो । गर्ने त सबै आफैले हो, मुक्त वा स्वतन्त्र बनाईदिने हो । चपाएर कुपुकुपु  खुवाउने हैन , प्रविधि सिकाईदिने हो । त्यसको अभ्यास निरन्तर जीवनभरि गरेर आनन्दको जिवन जिउन सक्षम पारिदिने हो । प्राप्त गर्नेले त कर्म जति गर्छ त्यति फल पाउने हो ।

आत्मज्ञान प्राप्त भएको संकेत सबै प्रकार विभेदकारी सोच र ब्यवहारको अन्त्य हो । सृष्टिमा सबै उही उर्जा हो रूप फरक छ भन्ने बोध हो । चर अचर सबै एक हुन्, ईश्वरका सृष्टि हो भनेर देउता मानिने हो । देउता त्यो हो जसले मानव मात्र हैन समस्त जगतको हित गरिरहेको हुन्छ। हिन्दू सनातनका लागि कुनै गड वा मूल मार्गदर्शक धर्मग्रन्थ हुदैन । शिव भनेको रूपरहित, आकाररहित ब्रह्माण्डको शक्तिसंचित रहेको निराकार उर्जा हो । अध्यात्म भनेको विभेदको अन्त्य नै हो । 

कुछु से कौनो विवाद वा झगड्नु के काम नहीँ छी । बढिया से बुझल् छी न !

(लेखक उपाध्याय नेपाल सरकारका अवकाश प्राप्त सचिव हुन् ।)