भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको कर्मचारीको तहमा झार्योः मिश्र

Advertisement

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपालका प्रधानमन्त्री केपी ओलीलाई भारतले आफ्नो खुफिया एजेन्सीको कर्मचारीको तहमा झारेको आशंका गरेका छन् । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै उनले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनी प्रश्न गरेका छन् ।

Advertisement

प्रधानमन्त्री केपी ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्त गोयललाई सुटुक्क बालुवाटारमा राति तीन घण्टा भेटेको रहस्य खुलेपछि चौतर्फी आलोचना भइरहेको बेला मिश्रले परराष्ट्रमन्त्रीलाई विभिन्न प्रश्नहरु राखेका छन् । 

मिश्रको प्रश्न छ, ‘युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन ? नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ?’

मिश्रले नेपालको स्वाभिमान यति तल्लो तहमा विरलै झरेको उल्लेख गर्दै भ्रष्टाचारमात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दै गएको जनाएका छन् । उनले थपेका छन्, ‘सुसंस्कृत राजनीति भएको देशमा हो भने प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको गम्भिर आरोपमा छानविन हुन सक्थ्यो । तर विडम्वनाको कुरा, भ्रष्टाचारमात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दैछ ।’

मन्त्री ज्ञवालीलाई मिश्रका प्रश्नहरुः 

१. त्यसो हो भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको ?

२. युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन ?

३. नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ?

४. नेपालका प्रधानमन्त्रीले नेपाली गुप्तचर निकायका प्रमुखलाई प्रतिनिधि बनाएर भारतीय प्रधानमन्त्रीलाई भेट्न पठाउँछु भनेर प्रस्ताव राखे भने, के भारतीय प्रधानमन्त्रीले भेट दिन्छन् ?

५. भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’ का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएन ? परराष्ट्र मन्त्रालयसँग सम्मन्वय भयो कि भएन ?

६. भएको भए, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले ‘हामीलाई गोयलको भ्रमणबारे जानकारी छैन’ किन भनेको ? अनि तपाईं अहिले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको भन्दै हुनुहुन्छ, त्यसो हो भने परराष्ट्र मन्त्रालयलाई किन जानकारी भएन ?

७. भेटघाटमा के परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए ?

८. यो देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री छन् कि छैनन् ?

Advertisement

Advertisement