बैंकहरु अहिले पनि सबल छन्, अर्थतन्त्र चाँडै पुनर्उत्थान हुन्छः भुवन दाहाल

कोभिड-१९ को नकारात्मक प्रभावले गर्दा हामी सबै असहज स्थितिबाट गुज्रिरहेका छौं । अर्थतन्त्र सामान्य अवस्थामा आउन थप केही समय लाग्ने भएता पनि केही क्षेत्र बाहेक अधिकांश क्षेत्रहरु हाल संचालनमा आएकाले आशाको सञ्चार भएको छ । 

व्यवसाय पुनरुत्थानको लागि आवश्यक रकमको सहज उपलब्धता, कर्जाको कम ब्याजदर, कर्जाको पूनरतालिकीकरण र पूनरसंरचनाको व्यवस्था आदिका कारण पनि हाम्रो अर्थतन्त्र चाँडै पुनरुत्थान हुन सक्छ भनेर हामी आशावादी छौं । गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा झन्दै २०% बढी कर्जा प्रवाह हुनुले पनि यसको संकेत गर्दछ । यो सकारात्मक परिस्थिति निर्माणका लागि नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक प्रति हामी सबै अनुगृहित हुनु पर्दछ ।

आफू बचौँ र अरुलाई पनि बचाउँ भन्ने मूल मन्त्रका साथ बैंकर तथा अन्य व्यवसायीहरु अहिले अघि बढ्नु पर्ने अवस्था छ । कोभिड–१९ का कारणले अति प्रभावित व्यवसाय तथा व्यक्तिहरुलाई कोभिड–१९का बावजुद पनि राम्रो गरेका व्यवसाय तथा व्यक्तिहरुले योगदान गर्न सक्छन् । यसका लागि नेपाल सरकारले करको दरमा आवश्यक परिमार्जन गर्न सक्दछ । 

पुस मसान्तमा बैंकहरुको पुनरसंरचना तथा पुनरतालिकिकरण गरेको कर्जा लगायत निष्किृय कर्जाको यथार्थ तस्वीर आउने नै छ । बैंकहरुको वित्तीय अवस्थामा दबाबका बावजुद बैंकहरुको पूँजी कोषको अवस्था न्यूनतम ८.५% भन्दा धेरै माथि रहेकाले निक्षेपकर्ताहरुले असुरक्षित ठान्नु पर्ने अवस्था छैन । हाल निक्षेप तथा कर्जाको बृद्घि दर सन्तोषजनक छ । वाणिज्य बैंकहरु गाँउ गाँउमा आधुनिक बैंकिङ सुविधा प्रदान गरिरहेका छन् । 

नेपालमा मोबाइल/इन्टरनेट तथा अन्य प्रविधिको प्रभावकारी विस्तारले गर्दा बैंकहरुलाई ब्रिक बैंकिङबाट क्लिक बैंकिङमा फड्को मार्न सहज हुने देखिन्छ । बैंकहरु यस दिशातर्फ लागि पनि रहेका छन् । जति चाँडो हामी  डिजिटल च्यानलको विस्तार गर्न सक्छौं, त्यति नै चाँडो सबै खाले ग्राहक वर्गमा सहजता आइ हाम्रो अर्थतन्त्रको विस्तारमा पनि सहयोग पुग्दछ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको डिजिटल नेपाल बनाउने भिजन अनुरुप हामी राष्ट्र बैंकको मार्गदर्शन अनुसार यस कामलाई अगाडि बढाउने छौं ।

हाल बजारमा कायम अधिक तरलताले ब्याजदर स्थायित्व तथा कर्जाको गुणस्तरमा चुनौती थपेको छ । यो विषयलाई संवोधन गर्न हामी प्रयासरत छौं । नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयबाट पनि प्रयास भइरहेको छ । यस सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयबाट थप सहयोगको अपेक्षा गरेका छौं ।  

बैकिङ कसुर तथा सजाय ऐन अन्तरगत घट्नाको अनुसन्धान तथा अभियोजन गर्ने हालको प्रणालीमा असल नियतले आफ्नो काम गरी समाजमा राम्रा र इमान्दार बैंकरको छबी आर्जन गरेका बैंकरहरुले पनि दुःख पाउने अवस्था आउँदा बंैंकिङ्ग क्षेत्रमा निराशाको अवस्था थियो। यस वर्षको मौद्रिक नीति मार्फत् सो ऐनमा आवश्यक संशोधनको प्रस्ताव गर्ने भनी उल्लेख भएकाले इमान्दार बैंकरहरुमा निर्धक्क काम गर्ने आशा पलाएको छ । यस कार्यका लागि गर्भनरज्यू तथा नेपाल राष्ट्र बैंक परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु र यो संशोधनको प्रक्रिया चाँडै अगाडी बढाईदिनुहुन विनम्र आग्रह गर्दछु । नेपाल राष्ट्र बैंकको अभिभावकत्व तथा मार्गदर्शनमा बैंकिङ क्षेत्रलाई थप पारदर्शी, व्यवसायिक तथा आधुनिक बनाउन हामी प्रतिबद्ध छौं । 

(नेपाल बैंकर्स संघ वार्षिक कार्यक्रममा अध्यक्ष दाहालले व्यक्त गरेको विचारको सम्पादित अंश)