सरकारले अनुदान नदिंदा कृषि बीमाको कारोबार ठप्प, ‘उद्यारोमा बीमा गर्न मिल्दैन’: कम्पनीहरु

Advertisement

काठमाडौं । सरकारले अनुदान रकम नदिंदा झण्डै डेढ महिनादेखि कृषि तथा पशुपंक्षी बीमाको कारोबार हुन सकेको छैन । 

सरकारले कृषि तथा पशुपंक्षीमा बीमाको अनुदान रकम नदिएपछि गत चैत १ गतेबाट बीमा कम्पनीहरुले यसको कारोबार रोकेका थिए । तर, त्यसको ३९औं दिनसम्म आइपुग्दा कृषि बीमाको कारोबार खुल्न सकेको छैन । न त सरकारले पुरा बक्यौता भुक्तानी गर्न सकेको छ । 

Advertisement

बीमा कम्पनीहरुले कारोबार नै रोकेपछि दुई हप्ता अघि सरकारले ४६ करोड रुपियाँ भुक्तानी दिएको थियो । तर, बीमा कम्पनीहरुले यसबापत अझै २ अर्ब रुपियाँ भन्दा बढी रकम सरकारबाट पाउनुपर्नेछ । पूरा रकम नआएका कारण कृषि बीमाको कारोबार खुला नगरेको कम्पनीहरु बताउँछन् । 

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पनि हाल कृषि तथा पशुपंक्षी बीमाको कारोबार बन्द अवस्थामै रहेको बताए । सरकारले पूरा रकम भुक्तानी नगरेसम्म कारोबार खुलाउने पक्षमा बीमा कम्पनीहरु नरहेको संघका एक अधिकारीले बताए । 

यसरी सरकारले समयमा अनुदानको रकम नदिंदा किसानहरु बीमा गर्ने अधिकार र अवसरबाट बञ्चित समेत भएका छन् । पछिल्लो समय पशुहरुमा देखिएको बिभिन्न बिमार, बाढी पहिरो र जलवायु परिवर्तनका कारण पशु पालन तथा खेतीमा जोखिम बढ्दै गएको छ । त्यो अवस्थामा कृषि तथा पशुपालन व्यवसायमा बीमको आवश्यकता बढ्दै गएको छ । तर, सरकारले अनुदान नदिंदा किसानहरु बीमा गर्ने अवसरबाट बञ्चित भएका छन् । 

अहिले किसानले शतप्रतिशत बीमाशुल्क तिर्ने भएमा बीमा हुने अध्यक्ष क्षेत्री बताउँछन् । तर, सरकारी सुविधा हुँदाहुँदै किसानहरु शतप्रतिशत बीमाशुल्क तिरेर बीमा गर्न तयार छैनन् । यता सरकारले पैसा नदिएसम्म कृषि बीमालाई अघि बढाउनेमा पक्षमा कम्पनीहरु देखिएका छैनन् । यसको प्रत्यक्ष असर किसानलाई नै परेको छ ।  

कृषि तथा पशुपंक्षी बीमा गर्दा लाग्ने शुल्कमा सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था छ । यसको प्रत्यक्ष फाइदा किसानलाई हुन्छ । सोहीअनुसार कम्पनीहरुले किसानसँग २० प्रतिशत शुल्क ल्याएर बीमा गर्ने गर्छन् । बाँकी ८० प्रतिशत शुल्क भने सरकारले अनुदान बापत दिनुपर्छ । तर, कम्पनीहरुले गत आवदेखिकै अनुदान पाउन सकेका छैनन् । पूरा रकम प्राप्त नभएसम्म  कारोबार खुलाउन पक्षमा आफुहरु नभएको बीमा कम्पनीहरु बताउँछन् ।

‘सैद्धान्तिक रुपमा उद्यारोमा बीमा गर्न मिल्दैन । सरकारले बनाएकै नियममा पनि उद्यारोमा बीमा गर्न नपाउने व्यवस्था छ । तर, सरकार आफैले बीमा शुल्कमा दिने अनुदानको बक्यौता तिरेको छैन,’ एक कम्पनीका उच्च अधिकारीले भने, ‘पटक पटक पहल गर्दा पनि पैसा नआएपछि कारोबार रोक्न बाध्य हौं ।’ 

यसअघि पनि कम्पनीहरुले गत जेठ ७ गतेदेखि असार ६ गतेसम्म कृषि बीमाको कारोबार रोकेका थिए । त्यसपछि सरकारले असारभित्रै पैसा उपलब्ध गराउने प्रतिवद्धता गरेपछि कम्पनीहरुले कारोबार सुरु गरेका थिए । तर, असार भित्र बीमा कम्पनीहरुले पूरा पैसा पाउन सकेनन् । त्यसबेला झण्डै ३ अर्ब रुपियाँ बक्यौता थियो । 

त्यसपछि डेढ अर्ब रुपियाँ बढी अनुदान रकम भुक्तानी भएको छ । तर, थप भएको बीमाको दायित्व र पुरानो गरेर अझै पनि दुई अर्ब भन्दा बढी बक्यौता रहेको छ, जुन पैसा सरकारले अनिवार्य रुपमा दिनुपर्नेछ ।

Advertisement