राष्ट्र बैंकका गभर्नर अधिकारीले उद्घाटन गरे ‘कर्पोरेट पे’ प्रणाली

Advertisement

काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले विहीबार अनलाइन कार्यक्रम आयोजना गरीे बैंक तथा वित्तीय संस्थाका व्यावसायिक  ग्राहकहरूका लागि कर्पोरेट पे प्रणालीको सुरूवात गरेको छ । उक्त प्रणालीको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य विशिष्ट अतिथिहरू डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, शिवराज श्रेष्ठ, कार्यकारी निर्देशक भुवन कँडेल, देवकुमार ढकालको उपस्थिति रहेको थियो । त्यसैगरी नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल, सरोजकाजी तुलाधर, वाणिज्य बैंक, विकास बैंक तथा वित्तिय कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरू, एनसीएचएलका संचालक समितिका अध्यक्ष तथा नेपाल राष्ट्र बैंक, बैंकिङ विभागका कार्यकारी निर्देशक नरेश शाक्य र एनसीएचएलका संचालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

Advertisement

कर्पोरेट पे प्रणाली बैंक/वित्तीय संस्थाहरूका व्यावसायिक ग्राहकहरूको लागि सहज रुपमा डिजिटल भुक्तानी गर्नका लागि प्रदान गरिएको भुक्तानी प्ल्याटफर्म हो । यस प्रणालीको सुरुवात सँगै अब व्यावसायिक संस्थाहरूले नगद वा चेकको सट्टामा वैकल्पिक च्यानल प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । यी भुक्तानीहरू कनेक्टआईपीएस मार्फत रियल–टाइममा तथा एनसीएचएल–आईपीएस मार्फत नन रियल–टाइममा हुनेछन् ।

यस प्रणाली मार्फत अन्तरबैंक र  सोही बैंकको फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजश्व भुक्तानी, सामाजिक सुरक्षा कोषको योगदान भुक्तानी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको भुक्तानी र अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी सजिलै गर्न सकिन्छ । कर्पोरेट पे सेवा लिनका लागि व्यावसायिक ग्राहकले आफ्नो बैंकमा सम्पर्क गरी एक पटक स्विकृती प्राप्त गर्नुपर्ने हुन्छ । यस पश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबार भित्र कुनैपनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन्, भने सो सीमा भन्दा बढिको कारोबार गर्न भने बैंकले थप चेक जाँच पश्चात प्रोसेस हुने व्यवस्था रहेको छ । साथै ग्राहकले आवश्यक्ता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी मल्टि–लायर अथेन्टिकेशनको सुरक्षित व्यवस्था सहित कारोबार गर्न सकिने प्रावधान रहेको छ । 

उक्त अवसरमा राष्ट्र बैंकका गभर्नर अधिकारीले आफ्नो धारणा राख्नु हुँदै भने, ‘नेपाल राष्ट्र बैंकले लिएको समग्रमा डिजिटल भुक्तानीको इकोसिस्टम विकास गरी नगदबाट ईलेक्ट्रोनिक चेक हुँदै नगद रहित डिजिटल प्रणाली कार्यान्वयन गर्न  एनसीएचएलले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। । नगदको प्रयोग कम गरी डिजिटल अर्थतन्त्र तिर जोड दिने राष्ट्र बैंकको नीतीलाई आजको यस कर्पोरेट पे प्रणालीको सुरुवातले थप टेवा पुर्याउने विश्वास लिएका छौँ  । कर्पोरेट पे प्रणाली मार्फत बैंक वित्तिय संस्थाका कर्पोरेट ग्राहकहरुको कारोबार पनि डिजिटलमा लगी नगद र चेकको प्रयोग उल्लेख्य घटाउन मद्दत पुग्ने छ ।’ 

कर्पोरेट पे प्रणालीमा हाल २० भन्दा बढी बैंक वित्तिय संस्थाहरुले आबद्ध भइसकेका छन्, भने अन्यबाट ग्राहकहरुलाई सेवा प्रदान गर्न आवश्यक पहल पनि भइरहेको छ । एनसीएचएलले उक्त प्रणालीको विस्तारको लागि आफ्ना सदस्य बैंक वित्तिय संस्थाहरुलाई आवश्यक सहजीकरण गर्दै आएको छ । नेपाल राष्ट्र बैंक तथा सदस्य बैंक वित्तिय संस्थाहरुको सहयोग मार्फत यस प्रणालीले डिजिटल भुक्तानीको क्षेत्र थप सुदृढ हुने विश्वास गरिएको छ ।

Advertisement

Advertisement