उडान बन्द हुँदा उद्धारमा हेलिलाई भ्याइनभ्याई, भाडा एक घण्टाकै दुई लाख !

Advertisement

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले शुक्रबारसम्म ६१ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गृह मन्त्रालयका अनुसार १४ वटा जिल्लाका आंशिक र बाँकी ४७ वटामा जिल्लाभर निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञासँगै नियमित उडानका गतिविधि ठप्प छन् । आन्तरिक उडान ठप्प हुँदा उद्धार उडानका नाममा हेलिकप्टरको व्यवासाय भने फस्टाएको छ ।

सरकारले काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा गरेको भएपनि आन्तरिक उडान भने २१ वैशाखदेखि मात्रै रोकेको हो । आन्तरिक उडान रोकेपछि २२ वैशाखदेखि नै हेलिकप्टरको भने उद्धार र आकस्मिक उडानका बिजनेस बढेको छ ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कार्गो, कोभिडका विरामीको उद्धार, आकस्मिक उद्धारसहितका गतिविधिमा हेलिकप्टरको उडानको चाप बढिरहेको छ । २१ वैशाख अघि नियमित उडान हुँदा उद्धार उडान निकै कम हुने गरेको भएपनि अहिले दैनिक २२÷२३ वटा हुन थालेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थलका महाप्रवन्धक प्रतावबावु तिवारीका अनुसार हेलिकप्टरको दैनिक उद्धार उडान २३ वटा पुगेको छ । विहीबार विभिन्न आठवटा हेलिकप्टर कम्पनीले चारवटा कोभिडका विरामीको उद्धार उडान गरेका छन् भने बाँकी १९ वटा अन्य उद्धार उडान गरेको छन् । यस्तो उद्धार उडान शुक्रबार पनि विहीबारकै हाराहारीमा भएको विमानस्थल कार्यालयको भनाइ छ । 

हेलिकप्टर भाडा न्यूनतम डेढलाख
नियमति उडान हुँदा नेपालीले आठ हजार र विदेशीले १५ देखि १७ हजारसम्म तिर्ने काठमाडौं लुक्लाको हवाई भाडा उद्धार उडान हुँदा प्रति व्यक्ति दुई लाखसम्म तिर्नुपरेको छ ।

नियमित उडान रोकेर उद्धार उडान मात्रै जारी राख्दा नियमित उडानमा आउने पाउने विदेशी तथा नेपालीले बाध्य भएर डेढदेखि दुई लाख रुपैयाँसम्म तिर्नुपरेको छ ।

हेलिकप्टरले आस्मिक चार्टर उडानका नाममा कम्तिमा डेढदेखि दुई लाख रुपैयाँ प्रतिघण्टाको लिने गरेका छन् ।

हेलिकप्टर कम्पनीले कोभिडका विरामीलाई विशेष व्यवस्था गरेर ल्याउनुपर्ने भएको र हेलिकप्टरलाई नै कोभिडफ्री बनाउन विशेष उपाय अपनाएकोले एक लाख रुपैयाँसम्म बढी भाडा लिएका छन् ।

अन्य उडानमा एकडेढ लाख हुने भाडा कोभिडका विरामीलाई दुईदेखि तीन लाख प्रतिघण्टाको लिइरहेका छन् ।

हेलिकप्टर सोसाइटी अफ नेपालले भने कोभिडका विरामीलाई १५ सय डलर करिब एक लाख ७७ हजार र अरु उद्धार उडानमा १२ सय डलर करिब एक लाख ४१ हजार रुपैयाँसम्म लिएको जानकारी दिएको छ ।

संघका महासचिव योगराज शर्मा कँडेलले कुनै पनि हेलिकप्टरले नियमित भन्दा बढी र सरकारले तोकिदिएको सीमा भन्दा माथि गएर भाडा लिएका छैनन् ।

हेलिकप्टर कम्पनीले दुईहजार डलर प्रतिघण्टाको भाडा लिन पाउने भएपनि महामारीको वेला भएकोले एक हजार देखि १२ सयडलर प्रति घण्टासम्ममै उडान गरिरहेको उनले बताए ।

पछिल्लो समय हेलिकप्टरको उडान कोभिडले गर्दा नै भ्याइनभ्याई भएको छ । माग आउनेमा ९० प्रतिशत कोभिडका विरामीकै रहेपनि यस्ता विरामी श्री, सिम्रिक र अल्टिच्यूडले मात्रै बोकेका छन् । अन्य हेलिले कोभिड स्पेशल हेलि बनाएका छैनन् भने अन्य प्रकारका उद्धार उडानबाटै सेवा दिइरहेको पनि उनका कँडेलको भनाइ छ ।

हेलिकप्टर सोसाइटीका अनुसार नियमित उडान हुँदा दैनिक दुईतीन वटासम्म मात्रै आउने यस्तो उद्धार उडान अहिले एउटै हेलिको लागि ५/७ वटा सम्म माग आउने गरेको छ । कोभिडका विरामी बढेसँगै अक्सिजनको छुटाउनै नहुने, सवारी साधनमा ल्याउन आवश्यक पर्ने भन्दा धेरै अक्सिजन चाहिने तथा छिटो गर्नुपर्ने अवस्थामा विरामीको विकल्प हेलि नै भएकोले पनि माग आइरहेको सम्बन्धित हेलिकप्टर कम्पनीले जानकारी दिएका छन् । 


 

Advertisement

Advertisement