उड्डयन प्राधिकरणको नेतृत्व लिन तीन भाईको लिगलिगे दौड, प्रक्रियाअनुसार गर्छौँः पर्यटनसचिव

Advertisement

काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको बिहीबारदेखि कार्यकाल सकिँदै छ । प्राधिकरण ८ असोजदेखि नेतृत्वबिहीन हुने भएकोले त्यस अगाडि नै नेतृत्वमा पुग्न प्राधिकरणकै तीन जना कर्मचारीले दौडधूप सुरु गरेका छन् ।

प्राधिकरणमा १२ औं तहमा पुगेको छ वर्ष वा महानिर्देशक भएको चार वर्ष मात्रै पदमा बस्न पाइने कानुनी व्यवस्था छ । पोखरेल छ वर्षे अवधि पूरा भएकोले अवकाश अवकाश पाउन लागेका हुन् । उनको पदावधि सकिने भए पनि प्राधिकरणका नेतृत्वमा पुग्न १२ औं तहका तीन कर्मचारी र ११ औं तहका एक कर्मचारीले दौडधूप सुरु गरेका हुन् ।

Advertisement

बाह्रौं तहका कर्मचारी राजकुमार क्षेत्री, भोला गुरागाई र प्रतापबाबु तिवारी महानिर्देशक हुन राजनीतिक लबिङमा लागेका छन् । क्षेत्रीको कार्यकाल जम्मा तीन महिना बाँकी छ भने गुरागाईंको पाँच महिना बाँकी छ । त्यस कारण पनि तिवारी आफूलाई बलियो उम्मेदवार ठान्छन् । आफू पूरै कार्यकाल महानिर्देशक हुन पाउने भएकोले पनि उनको दौड बढी देखिन्छ । प्राधिकरणमा भएको अभ्यासअनुसार १२ औं तहका कर्मचारी मात्रै महानिर्देशक हुन पाउँछन् । त्यसका अतिरिक्त मन्त्रालयबाट हवाई महाशाखाका सहसचिव पनि महानिर्देशकमा आउने अभ्यास छ ।

पर्यटन मन्त्रालयका बुद्धिसागर लामिछाने मात्रै हवाई विभागमा सहसचिव छन् । दुई जना सहसचिव रहने उक्त विभागमा एक सहसचिव खाली छ । लामिछाने प्राधिकरण आउँदा उक्त विभाग नै खाली हुने भएकोले र उक्त विभागमा हवाई प्राविधिक नै सहसचिव हुने भएकोले सरकारले उनलाई प्राधिकरणमा पठाउने सम्भावना कम छ । लामिछाने पनि प्राधिकरणमा जान भने इच्छुक छन् ।

प्राधिकरणमा वरिष्ठता र योग्यताका हिसावले क्षेत्री र गुरागाईंले पनि दावी गरेका छन् । यसअघिको अभ्यास वरिष्ठ मात्रै योग्य हुने भन्ने नरहेकोले १२ तहमा तीनमध्ये कुनै एक जना महानिर्देशक हुन सक्छन् ।

महानिर्देशकमा पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गर्ने भएकोले मन्त्रिपरिषद्मा आफ्नो पनि नाम प्रस्ताव गरेर नेतृत्वमा पुग्न ११ तहका कर्मचारी प्रदीप अधिकारी पनि लागिपरेका छन् । उनले आफूलाई योग्य उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन् । अधिकारीले पोखरा र भैरहवा विमानस्थल बनाउन आफूले गरेको योगदान तथा हवाइ पूर्वाधारमा आफ्नो क्षमता राम्रो भएकोले आफू महानिर्देशकका लागि योग्य रहेको दावी गर्छन् । 

अधिकारी १२औं तहको कर्मचारी नभएको र अरुभन्दा कनिष्ठ भएकोले उनको लागि सरकारले फड्को मार्नुपर्ने हुन्छ । उनलाई नियुक्ति गर्दा १२औं तहबाट मात्रै महानिर्देशक नियुक्ति हुने परम्परा नै तोडिने छ । साथै, यसअघिका प्रावधान नै परिवर्तन गर्नुपर्ने हुँदा उनको संभावना न्यून देखिन्छ ।  

पर्यटन मन्त्रालयका सचिव यादव कोइराला भने आवश्यक प्रक्रिया र बिधिअनुसार प्राधिकरणमा महानिर्देशक हुने बताउँछन् । दुई दिनपछि नेतृत्व खाली हुने भए पनि वरिष्ठले निमित्त लिएर काम गर्न नरोकिने उनको भनाई छ । पर्यटन मन्त्रालयमा मन्त्री आएमा वा प्रधानमन्त्रीले रुची देखाएमा मात्रै आफूले नयाँ नियुक्तिका लागि प्रस्ताव लैजानसक्ने संकेत कोइरालाको छ । उनले भने ‘आवश्यक विधि र प्रक्रिया अनुसार संस्था चल्छ । त्यसमा कुनै तनाव लिनुपर्दैन ।’ 

Advertisement

Advertisement