असी प्रतिशत अनुदान दिएको कृषि बीमालाई कम्पनीहरुले उपेक्षा गरेर नाफाको पछि दौडिएः समिति

Advertisement

काठमाडौं । कृषि बीमामा सरकारले पर्याप्त अनुदान दिँदा पनि बीमा कम्पनीहरूले कृषि बीमामा पर्याप्त ध्यान नदिएको बीमा समितिले औंल्याएको छ । अहिले कृषि बीमाका लागि सरकारले ८० प्रतिशत अनुदान दिएको र सो अनुदान रकम पर्याप्त भए पनि त्यसलाई कम्पनीहरूले आफ्नो प्राथमिकतामा नराखेको समितिका अध्यक्ष सूर्य सिलवालको भनाई छ । 

एकातिर ३३ प्रतिशत बीमा पहुँच पुर्याउनुपर्ने बीमा समितिलाई बाध्यता छ । तर ठूलो हिस्सा रहेको कृषि बीमाको पुहुँच अपेक्षितरुपमा बढ्न नसक्दा सिलवाल चिन्तित छन् । उनले कर्पोरेट नेपालसँग भने, ‘अहिले सरकारले कृषि बीमामा लागि दिएको अनुदान रकम पर्याप्त छ । तर अनुदान रकम राम्रो भए पनि कम्पनीहरूले सोहीअनुसार काम गरेका छैनन् ।’

Advertisement

निर्जीवन बीमा कम्पनीले अन्य ठूला ठूला किसिमका बीमा गर्दा पर्याप्त आम्दानी गर्ने भएकाले थोरै रकम आउने बीमामा आकर्षण कम भएको हुनसक्ने समितिको आँकलन छ । कृषि तथा पशुपंक्षी बीमामा फाइदा  न्यून हुने भएकाले  कम्पनीहरूले यसलाई आफनो प्राथमिकतामा नराख्ने गरेको सिलवालको विश्लेषण छ । 

उनी भन्छन्, ‘अहिले कृषि बीमाबाट आर्जन हुने नाफा त्यही दुई प्रतिशत  त होला अनि कुन कम्पनीले त्यसका लागि काम गर्छन् त ।’ अन्य बीमा व्यवसायका लागि भने कम्पनीहरूले मरिहत्तै गर्ने कम्पनीहरु कृषि तथा पशुपंक्षी बीमा चाहीं किन पर्याप्त ध्यान दिन्नन् ? भन्दै समितिले कृषि बीमा तछाडमछाड गरेर लिने व्यवसायमा पर्दैन भनेको छ ।

पछिल्लो समय बेमौसमी बर्षा र बाढीका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको अवस्था छ । बीमा समितिले उक्त क्षतिका लागि सरकारले दिएको राहतमा मात्रै नागरिक भर पर्नुपर्ने बाध्यता रहेकाले त्यता समस्यामा बीमाको साथ लिन अनुरोध गरेको छ । 

बीमा चेतना बढाउने कुरा सुन्दा सामान्य लागे पनि प्राकृतिक विपत्ति र दूर्घटनाको अवस्थामा यसको महत्व निकै धेरै हुने सिलवालको भनाई छ । अधिकांश क्षतिमा आर्थिक पाटो नै महत्वपूर्ण हुने र बीमाले त्यसमा मद्दत गर्ने भएकाले यसको महत्व धेरै रहेको उनले बताए । 

अबको बजार भनेको कृषि तथा पशुपंक्षी बीमा नै भएकाले पनि कम्पनीले त्यसलाई प्राथमिकतामा राख्नुपर्ने समितिको ठहर छ । अझै पनि ग्रामीणस्तरमा बीमाबारे सचेतनाको निकै कमी छ । बीमा कम्पनीहरूले ग्रामीण भेगमा पनि बीमा चेतना बढाउन जरूरी रहेकोमा जोड दिँदै आएका छन् । समितिले नागरिकमा सोही चेतना बढाउन अहिले विभिन्न स्थानीय तहसँग अन्तक्रिया गरिरहेको छ ।

अब बीमा कम्पनीले बीमालाई नाफामूखी मात्र बनाउनेभन्दा पनि सेवामूखी बनाउन जरूरी रहेको सिलवाल बताउँछन् । उनी भन्छन्, ‘बीमा भनेको त व्यवसायिक प्रयोजनको लागि मात्रै होइन् । सेवाको हिसाबले पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । अब फाइदाका लागि मात्रै बीमा गरेर हुँदैन् । आर्थिक अवस्था  कमजोर भएका जनताले समेत महशुस गर्न पाउने हिसाबले बीमा गर्नु जरूरी छ ।’ 

Advertisement

Advertisement