उद्योगी व्यवसायीले कसरी गर्दैछन् लक्ष्मी पूजा ?

Advertisement

काठमाडौं । तिहार नेपालीको दोस्रो ठूलो महान पर्वका साथै धनधान्यका देवी लक्ष्मीको पूजा आराधना गरेर मनाउने पर्व पनि हो । लक्ष्मीपूजा आमउद्योगी व्यवसायीदेखि लिएर सर्वसाधारणसम्मले आआफ्नो क्षमता र गच्छ अनुसार मनाउने गर्छ । लक्ष्मीको पूजा गर्ने सबैको आआफ्नै तरिका र शैंली हुने भएपनि उद्योगी व्यवसायी कसले कसरी गर्दैछन् यो वर्ष लक्ष्मी पूजा ? कर्पोरेट नेपालले गरेको कुराकानीमा उद्योगी व्यवासयका प्रतिनिधिमूलक व्यत्तिको लक्ष्मी पूजा यसरी हुन्छ ।

परम्परादेखिको चलन अनुसार धूमधाम र भव्य पूजा गर्छु
पशुपति मुरारका
पूर्व अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ

Advertisement

लक्ष्मीको पूजा भन्ने वित्तिकै हाम्रो माडवारी समूदायमा परम्परागत चलन नै धूमधाम र भव्य भन्ने नै हुन्छ । हाम्रो समूदायमा लक्ष्मीपूजाकै दिनदेखि नै संकेतिक रूपमा खातापाता परिवर्तन हुन्छ । कानूनी रूपमा नयाँ आर्थिक वर्ष कुर्नुपर्ने भएपनि हाम्रो परम्परा भने नयाँ खातापात चलाउने दिन भनेर लक्ष्मी पूजालाई लिन्छौ । तिहार सरसफाई गर्ने, झिलिमिली बनाउने तथा घरबाहिर भएका घरका सदस्यहरू पनि मूल घरमै फर्किने र धुमधामसँग लक्ष्मीको पूजा गर्ने चलन छ । मिठाइ बनाउने रमाइलो गर्ने, खाने र लक्ष्मीपूजाको भोलिपल्ट मान्यजनको आर्शीवाद लिन जाने चलन छ ।

दिनभर व्रत बसेर भव्य रूपमा पूजा गर्छु
भवानी राणा
पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

लक्ष्मी पूजा गर्ने भन्ने बित्तिकै घर सजाउने, झिलिमिली बनाउने, विहानैदेखि व्रत बस्ने गरेको छु । वर्षेनी लक्ष्मी पूजाको दिन दिनभर व्रत वसेर पूजा गर्ने गरेको छु । यसपालि पनि त्यसै गर्छु । लक्ष्मीको पूजा अफिस र घर दुबै ठाउँमा हुन्छ । दिउसो अफिसमा र बेलुका घरमा पूजा गर्छु । पूजा गर्दा गुरु (पण्डित)बोलाउने, पाठ गर्ने, घरबाहिर भएका आफन्त पनि मूल घरमै आउने र  भव्यतका साथ पूजा गर्ने चलन छ । त्यसै अनुसार गर्ने गर्छु ।

चारपाँच वटा अफिस र घरमा पूजा गर्छु
माणिकरत्न शाक्य
अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ

अघिपछिको भन्दा व्यापार बढी हुने भएको तिहार लाग्नु अघिल्लो दिन अर्थात धनतेरसकै दिनदेखि व्यापारमा व्यस्त हुने गरिन्छ । लक्ष्मी पुजाको दिन पनि अन्य समयको तुलनामा व्यापार बढी हुने गर्छ । व्यापार पनि हेर्नुपर्छ, पूजा आजा पनि गर्नुपर्ने हुन्छ । यसका लागि समय व्यवस्थापन गरेर बिहान ८ बजेदेखि बेलुकासम्म नै व्यस्त हुन्छु । चारपाँच वटा कार्यालयमा पूजा भ्याउनुपर्ने र घरमा पनि गरिने भएकोले समय व्यवस्थापन गरेर लक्ष्मीको पुजा गर्छ ।

एकाग्र भएर एक घण्टा पूजा गर्छु
सिर्जना राणा
अध्यक्ष, होटल संघ नेपाल

दुई वर्षदेखि कोभिडको कारणले बाहिरी रमझम बन्द भएको छ । बाहिरफेर हिड्ने रमाउने वातावरण पनि भएन् । त्यसमाथि पनि होटल क्षेत्र अलि बढी र लामो समय कोभिडले प्रभाव परेको क्षेत्र भएकोले होटलमा धूमधमा पूजा हुँदैन् । घरमा शान्त रूपमै लक्ष्मीको पूजाआजा गर्ने गर्छु । लक्ष्मीको पूजा सामान्य रूपमा हुन्छ । त्यति धेरै तामझाम गरेर गरिदैन् । तर पूजा गर्दा भने लक्ष्मीप्रति एकाग्र भएर एक घण्टा लगाएर पूजा गर्छु । ध्यानमग्न रूपमा पूजा गने गरेको छु । लक्ष्मीको पूजा सामान्य नागरिकले जसरी गर्छन मैले पनि त्यसैगरी गर्ने गरेको छु ।

Advertisement

Advertisement